फागुन १५ गते २०८०

अग्रज पत्रकार रमेश पौडेललाई मातृशोक, विभिन्न क्षेत्रद्वारा दुःख व्यक्त

पोखरा । पोखराका अग्रज पत्रकार रमेश पौडेल पौडेललाई मातृशोक परेको छ । पौडेलकी ममतामयी माता ईन्द्रकला पौडेलको गएराति १२:४४ बजे पर्वतको कुश्मा नगरपालिका वडा नं। ९ कटुवाचौपरी, ज्ञादीस्थित निवासमै निधन भएको हो ।

स्व। ईन्द्रकलाको आज बिहान ११ बजे कालीगण्डकीस्थित मोदीबेनी घाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

स्व। पौडेलका ५ छोरा खगेन्द्र, प्रेमनारायण, जय, रमेश र सहदेव पौडेल, २ छोरी सीता सापकोटा र विना अधिकारी छन् ।

जेठा छोरा खगेन्द्रको यसअघि नै निधन भइसकेको छ । अर्का छोरा रमेश लामो समयदेखि पत्रकारितामा क्रियाशील छन् । उनी नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष हुन् । उनी पोखरास्थित रेडियो बाराहीका प्रवन्ध निर्देशक हुन् ।

यसैबीच नेपाल पत्रकार महासंघ कास्कीले महासंघका पूर्व सल्लाहकार रमेश पौडेल तथा शुभचिन्तकहरु प्रेमनारायण, जय, र सहदेव पौडेल, सीता सापकोटा र वीना अधिकारीकी ममतामयी माता ईन्द्रकलाको निधनप्रति गहिरो दुःख प्रकट गरेको छ ।

महासंघकी अध्यक्ष बिमला भण्डारीले ईन्द्रकलाको निधनले आफू र सबै पत्रकाहरु भावविह्वल भएको भन्दै दुःख प्रकट गरेकी छन् । उनले स्व। ईन्द्रकलाको वैकुण्ठवासको कामना गर्दै पौडेल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्दै समवेदना व्यक्त गरेकी छन् । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष वासुदेव मिश्रले अग्रज पत्रकार, प्रेस युनियन कास्कीका सल्लाहकार रमेश पौडेल तथा परिवारजनमा परेको शोकप्रति दुःख व्यक्त गरेका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले ईन्द्रकलाको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी सभापति शुक्रराज शर्माले पौडेलको निधनले आफू निकै मर्माहत एवं स्तव्ध भएको बताएका छन् । उनले पौडेलको वैकुण्ठवासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली एवं परिवारजना समवेदना व्यक्त गरेका छन् ।