भाद्र २ गते २०८३

हरेलो

किसानहरूको महत्वपूर्ण पर्व हरेलो । यस वर्षको खेतीपाती सप्रियोस भनेर योमुख्यतया बालीनालीको सुरक्षा, कीराफट्याङ्ग्रा र मुसाबाट धान जोगाउने तथा राम्रो उब्जनीको कामना गर्दै मनाइने प्रकृति र कृषिसँग सम्बन्धित भूमिपूजा
हो । नयाँ बाबियोको हत्यौरी बाटेर त्यसको एक छेउमा मकैको भुत्लाको पोकोभित्र ५, ७ वा ९ प्रकारका अन्न धान, मकै, मास, चामल, भुस, गहुँ, फापर, तोरी र घरायासी काठका उपकरणका टुक्रा, भोजपत्र राखिएको हुन्छ । यस्ता
पोकोसहितको हत्यौरीको साथमा धुप हाल्न, सल्केको गुइँठा, सलाई वा लाइटर, पुत्ताएको मकल, निबुवा आदि लगिन्छ । कान्लामा स्याउला वा टाँकीको डाँठ ठड्यएर, धुप, धुँवा र पूजाआजा गरी चामलको पैसे रोटी प्रसादको रुपमा चढाइ, कूलाको मूहानमा निबुवा निचोरी डाँठमा पोको झुण्ड्याइन्छ । पूजा गर्दा त्यस भेकका सीमे भुमे, अंयर भयंर, नाग आदि देवता सम्झिएर आह्वान गर्दै  चराको चुच्चो भाँच्चियोस्  मुसा  को दाँत  भाँच्चियोस भनेर पुकारा गरिन्छ ।
विधिपूर्वक पूजाआज गरेपछि एउटा ढुङ्गामा बसेर चामलका लाबा रोटीकोप्रसाद खाइन्छ । यो दिनमा खन खोर्सन केही गर्न नहुने परम्परा छ ।