असाेज २० गते २०८०

मुस्ताङमा कृषि तथा पर्यटन मेला

कमल पौडेल अथक
जोमसोम, २० असोज
हिमालपारीको जिल्ला मुस्ताङमा तीन दिने कृषि तथा पर्यटन मेला सम्पन्न भएको छ । जिल्लाको घरपझोङ गाउँपालिका कार्यालयको आयोजना तथा गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड कार्यालय पोखरा, कृषि ज्ञान केन्द्र मुस्ताङ र स्थानीय संघ संस्थाहरुको सहयोगमा सो महोत्सव सम्पन्न भएको हो ।
महोत्सव गाउँपालिका कार्यालय परिसरमा आयोजना गरिएको थियो । कार्यालयको नयाँ भवन निर्माण र संञ्चालन भएसँगै सो मेला आयोजना गरिएको हो । मेलामा स्थानीय उत्पादन विक्री तथा प्रर्दशनीमा राखिएका थिए ।
मेलामा स्याउ, ओखर, काउली, मुला, रायोसाग, बन्दा स्याउको सुकुटी आलुको सुकुटी, जिम्मु लगायतका उत्पादन राखिएका थिए । मेलामा १५ वटा स्टल थिए ।
गाउँमा उत्पादित बस्तु बजारसम्म पुर्याउन मेलाले सहयोग पुगेको घरपझोंङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए । मेलामा मुक्तिनाथ र कोरला नाका जाने आउने पर्यटकहरुको पनि आकर्षण रहेको उनले वताए ।
कारोवारको हिसाबले भन्दा पनि मुस्ताङमा उत्पादित कृषि उपजलाई बजारमा कसरी लैजाने भन्ने हेतुले मेला आयोजना गरिएको उनले जानकारी दिए ।
कृषि र पर्यटन सँग सँगै लैजान सके देशको विकासमा टेवा पुग्ने नेपाल पर्यटन बोर्ड पोखरा कार्यालय प्रमुख नवीन पोखरेले बताए । उनले पर्यटन सँग कृषि जोड्न सकेमात्र त्यसले दिगो अर्थतन्त्रको विकास हुने जानकारी दिए ।
कृषि मेलाले स्थानीय कृषकहरुमा आत्मबल बढाएको मेला भर्न आएकी जुमी थकालीले वताइन् । सरकारले यस्ता मेला सँधै गर्नु पर्ने उनको भनाई छ ।