कार्तिक १४ गते २०८१

आज काग तिहार

काक आहृयते काकान्, याचको न तु याचकम्।
काकयाचकयोर्मध्ये वरं काको, न याचक।।

मानिसमा भन्दा कागमा एक कुराको चेतना छ त्या हो
भोजन फेला पार्ने बित्तिकै प्रसन्न मनले कागले आफ्ना साथीहरूलाई पनि सँगै खान निम्तो दिन्छ तर मानिसको हकमा चाहिँ उनीहरू स्वार्थी हुन्छन् ।

हाम्रो समाजमा कागलाई सन्देश प्रवाही प्राणी र काग करायो भनेँ केही सन्देश या पाहुना आउने जनाउका रूपमा लिने चलन अझै रहेको छ ।

कागलाई विशेष गरी अशुभ सन्देश प्रवाह गर्ने पन्छीका रूपमा लिइन्छ । धर्मशास्त्रहरू अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको छ । आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति अहिले पनि रहेको छ । तर काग तिहारमा भने यी सबै नकारात्मक मान्यताहरूलाई बिर्सिएर कागको पूजा गरिन्छ ।

आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । कागतिहारमा कागलाई घर आँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । आज कागतिहारकै दिन समुद्र मन्थनका बेला उत्पत्ति भएका आयुर्वेदका प्रवर्तकधन्वन्तरी ऋषिको सम्झनामा धन्वन्तरि दिवस पनि मनाइन्छ । आज यमदिप दान गर्नाले यमराजको यातनाबाट मुक्त हुने अर्को धार्मिक विश्वास छ ।