असाेज १४ गते २०८०

पोखरामा बजार अनुगमन, सुमित सप्लायर्सलाई ५० हजार जरिवाना

कमल पौडेल अथक
पोखरा १४, असोज
बजार अनुगमन समितिले पोखरा १७ हिमाली टोलमा रहेको सुमित सप्लायर्सलाई आयतवार ५० हजार जरिवाना गरेको छ ।
अनुगमनको बेला पसलमा म्याद गुज्रेका सामान राखी विक्री वितरण गरेको भेटिएपछि सो जरिवाना गरिएको हो ।
उक्त सप्लायर्सले यस अघिको अनुगमन समितिले दिएको निर्देशन अटेरी गरेको, प्याकिङ गरी राखेको आलमोण्डको म्याद गुज्रिएको, लेबल नलगाएको, कुहिएको नरिवल विक्रीको लागि राखेको भन्दै म्याद गुज्रिएको १५ हजार ७१३ रुपैया वरावरको सामान नष्ट गरेको छ ।
सो सप्लायर्सका सञ्चालक रमेश राठीलाई सम्पूर्ण कागजपत्र सहित ३ दिन भित्र उपभोक्ता हित निर्देशनालयमा उपस्थित हुन आदेश दिएको छ ।
त्यसैगरी हिमाली टोलमा नै रहेको मामा फ्रेस हाउसमा रहेको सडेको चार किलो कुखुराको मासु नष्ट गरी संञ्चालकलाई पसलको सरसफाइमा ध्यान दिन निर्देशन दिएको छ ।
त्यसैगरी पोखरा १७ विरौटा शिशुनिकेतन मार्गमा रहेको मुस्कान किचनले नामको खाद्य गोदाम दर्ता नगरी चलाएको, बोर्ड नराखेको र केही जिम्मु र रातो रङ मिसाएको ललिपापड नष्ट गरेको छ । सो खाद्य पसललाई चेतावनी स्वरुप ५ हजार जरिवाना गरेको छ ।
पर्यटन उद्योग बाणिज्य तथा उपभोक्ता हित निर्देशनालयका निर्देशक नारायण ढकालको संयोजकत्वमा भएको अनुगमनमा उपभोक्ता, मञ्चका प्रतिनिधि, खाद्य कार्यालय कास्कीका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रतिनिधि र संञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।