भाद्र २६ गते २०८३

युवा उद्यमी आदित्य पोखरेललाई डागर स्मृति पुरस्कार

डागर स्मृति पुरस्कार–२०८३ बाट युवा उद्यमी आदित्य पोखरेल पुरस्कृत हुने भएका छन् । समाजसेवी तथा पुस्तक व्यवसायी राजन पराशर डागरको स्मृतिमा स्थापित उक्त पुरस्कार यो वर्ष आशीर्वाद पुस्तक पसलका युवा उद्यमी आदित्य पोखरेललाई अर्पण गर्न लागिएको हो ।
२० हजार नगद राशिसहितको पुरस्कार राजन पराशर डागरको २५ औं स्मृतिमा बीच यही भाद्र ३१ गते ऋषिपञ्चमी तिथिमा अमृत कक्षमा आयोजना हुने समारोह बीच अर्पण गरिने प्रतिष्ठानकी संस्थापक रमा पराशर बताउँछिन् ।
उक्त पुरस्कारबाट समाजसेवी विश्वमोहन गौचन, हरिश्चन्द्र शर्मा, सोनाम साङ्पो, रामबहादुर पौडेल, गोविन्दराज पहारी, साहित्यकार आर.एम. डंगोल, भीम रानाभाट, सुमलकुमार गुरुङ, समाजसेवा तथा संस्कृति सेवातर्फ मानव सेवा आश्रम, हिमाली सांस्कृतिक परिवारसमेत पुरस्कृत भइसकेका संस्थाकी उपाध्यक्ष सरिता तिम्सिना पगेनीले जानकारी दिइन् ।
पछिल्लो समय संस्थाले युवा पुस्तालाई प्रोेत्साहित गर्ने क्रममा राष्ट्रसेवक चन्द्रा गुरुङ, युवा वैज्ञानिक मनिषा द्वा, स्वास्थ्यसेवी डा तुलिका दुवे, युवा पाइलट दीक्षान्तजंग राणा, युवा उद्यमी भाष्कर उपाध्याय, राहुल उपाध्याय पुरस्कृत भइसकेको प्रतिष्ठानका परिकल्पनाकार दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
संस्थाका अध्यक्ष बिन्दु श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले सर्वसम्मत उक्त निर्णय गर्दै संस्थालाई सहयोग गर्ने शुभेच्छुक, आजीवन सदस्यप्रति कृतज्ञता ज्ञापनसमेत गरेको छ ।

को हुन् आदित्य पोखरेल ?
बुवा कृष्ण पोखरेल र आमा मीरा पौडेल पोखरेलका कोखबाट २०६५ असोज १ गतेका दिन जन्मेका आदित्य पोखरेल पोखराको मदरल्याण्ड स्कुलबाट ए प्लस ग्रेडका साथ प्रवेशिका परीक्षा उत्तीर्ण गर्ने मेधावी छात्र हुन् ।
प्रतिभा मा.वि.मा व्यवस्थापन सङ्कायबाट ए प्लस ग्रेडकै साथ ११+२ पूरा गरेका आदित्य हाल नदीपुरस्थित पोखरा कलेज अफ म्यानेजमेन्टमा स्नातक दोस्रो सेमेष्टरमा अध्ययनरत छन् ।
सात कक्षा अध्ययनदेखि उनी व्यवसायमा संलग्न रहेर सहयोग गर्दै आएको आमा मीरा पौडेल पोखरेल बताउँछिन् । व्यवसाय प्रवद्धनमा सहयोग पु¥याउँदै विभिन्न सामाजिक तथा व्यवसायिक संघसंस्थामा संलग्न रहँदै आएकी मीराको व्यक्तित्वले पनि आदित्यलाई यस क्षेत्रमा लाग्न प्रेरित गरेको देखिन्छ ।
आदित्य खेलकुद विधातर्फ बास्केटबल तथा क्रिकेटका सौखिन पनि छन् । उनले इन्टरकलेज क्रिकेट प्रतियोगिता, कलेजस्तरीय बास्केटबल प्रतियोगितामा विभिन्न पदक तथा उपाधिसमेत हात पारिसकेका छन् । खेलकुद, अध्ययनसँगै व्यवसायमा हात हालेका आदित्य विगत चार वर्षदेखि आशीर्वाद पुस्तक पसललाई पूर्ण रूपमा कुशलतापूर्वक सञ्चालन गर्दै आएर पछिल्लो पुस्ताका लागि युवा इन्टरपेनर रूपमा देखिएका छन् ।
पोखराको महेन्द्रपुलमा २०६५ सालदेखि सञ्चालन हुँदै आएको आशीर्वाद पुस्तक पसलमा विद्यालयतहदेखि विश्वविद्यालय तथा विभिन्न सेवा आयोगका तथा साहित्यिक पुस्तक प्राप्त गर्न सकिन्छ । विभिन्न कम्पनीको डिलरका रूपमासमेत रहेको उक्त पसल हाल चार करोडको लागतमा सञ्चालित छ । जहाँ १० जनाले रोजगारी प्राप्त गरी आफ्नो जिन्दगीको नौकासमेत खियाइरहेका छन् । यसरी १८ वर्षकै उमेरमा व्यवसायमा लाग्न प्रेरित गर्ने पुस्तक व्यवसायी कृष्ण पोखरेलको जीवनयात्राले पनि आदित्यलाई व्यवसायमा लाग्न प्रेरित गरिरहेको देखिन्छ ।
पुतलीबजार–४, स्याङ्जा पुख्र्यौली थलो रहेका कृष्ण पोखरेलले २०५२ सालदेखि एमटुएम पुस्तक पसलबाट व्यवसायिक यात्रा शुरु गरेका थिए । पोखराको बगरमा विन्ध्यवासिनी कोचिङ सेन्टर, एमटुएम होस्टेल, गेटवे कोचिङ सेन्टर सञ्चालन गर्दै जाँदा कान्छा सुपुत्रकारुपमा आदित्यको जन्मसँगै उनले आशीवार्द पुस्तक पसल सञ्चालन गरे । वैदिक सनातन संस्कारमा आस्था राख्ने परिवार भएकाले होला उनलाई भगवान्को आशीर्वाद नै प्राप्त भयो, त्यसपछिका दिनमा अरु व्यवसायमा मन डुलाउन परेन ।
कृष्णका दुई छोरामध्येका ठूला छोरा अभिषेक पोखरेल भने मणिपाल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत छन् । कान्छा आदित्य, जो डागरजीको प्रेरणाबाट पुस्तक व्यवसायप्रति उत्प्रेरित भएको उनी बताउँछन् ।
छोरा हुन् त आदित्य पोखरेल जस्ता हुन, जसले नयाँ र फरक व्यावसायिक सोचका साथ जोखिम उठाउने क्षमता निर्माण गरेर आइपरेका समस्या समाधान गर्दै नेतृत्वदायी र व्यवस्थापन सीप आर्जन गरेर जीवनयात्रालाई अगाडि बढाएर युवा इन्टरपेनरका रूपमा आफूलाई स्थापित गराउँदै आएका छन् । हरेक बाबुलाई बाबुको मुख हेर्ने दिन यस्तै खुसी दिन सकून् ।
राष्ट्रियताको भावले ओतप्रोत भएर आफ्नै देशमा व्यावसायिक सफलता प्राप्तिका लागि लगनशीलताको बीज रोप्दै अगाडि बढेका आदित्यको बाँकी जीवनको थप सफलताको शुभेच्छासहित पुरस्कृत हुन लाग्नु भएकोमा हार्दिक बधाई !