फागुन २० गते २०७८

गण्डकीमा सञ्चारमैत्री कानुन ल्याइने – मन्त्री थापा


पोखरा, २० फागुनः गण्डकी प्रदेशका कानुन संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले प्रदेशमा ल्याउन लागिएको कानुन सञ्चार क्षेत्र मैत्री हुने बताएका छन् ।
नेपाल प्रेस युनियन कास्कीद्वारा आज आयोजित उत्कृष्ट सदस्य अवार्ड वितरण एवम् सम्मान कार्यक्रममा उहाँले सम्बद्ध पक्षसँग छलफल एवम् अन्तरक्रिया मार्फत कानुनलाई अन्तिम रुप प्रदान गरिने बताए ।
समाजका सत्य तथ्य ल्याउने पत्रकारिता क्षेत्र आफैंमा मर्यादित तथा विश्वसनीय हुनुपर्नेमा जोड दिदै उनले प्रेस युनियन कास्कीले सञ्चालन गरिरहेको आधारभुत पत्रकारिता तालिमले यस क्षेत्रमा दक्ष जनशक्ति ल्याउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा मन्त्री थापाले उत्कृष्ट सदस्य अवार्डबाट विजय नेपाली र गण्डकी प्रदेश प्रमुखका प्रेस संयोजक माधव रेग्मीलाई सम्मान गरेका थिए ।
नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले पत्रकारिता पेशालाई जिम्मेवार र व्यवसायिक बनाउन सकेमा मात्र आम सर्वसाधारणको विश्वास यस क्षेत्रले जित्न सक्ने बताए । प्रेस युनियन कास्कीले सञ्चालन गरिरहेको आधारभुत पत्रकारिता तालिमका सहभागीलाई तालिमका उपलब्धि व्यवहारमा उतार्न उनले आग्रह गरे ।
नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष माइकल कर्माचार्यले समाचार सत्य लतथ्यमा आधारित हुनुपर्ने बताउँदै त्यसले जिम्मेवार पत्रकारिता बढाउने बताए ।
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देलको अध्यक्षता एवम् सचिव प्रदिप पौडेलले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले स्वागत गरे । कार्यक्रममा काँग्रेस नेता गणेशबहादुर भट्टराई, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य टंकराज अधिकारी, युनियन कास्कीका सल्लाहकार राजबहादुर गुरुङ, सम्मानित व्यक्तित्वद्वय विजय नेपाली, माधव रेग्मी, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल लगायतले पत्रकारिता क्षेत्रको महत्व लगायतमा बोलेका थिए ।