असाेज १० गते २०८३

सराङकोट सहकारीको २०औं बार्षिक साधारण सभामा प्राज्ञ अथक सम्मानित 

पोखरा १०, भदौ

गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ-सभा सदस्य एवं वरिष्ठ पत्रकार  कमल पौडेल अथक शनिवार पोखरामा सम्मानित भएका छन् ।

सराङकोट वहुउद्देश्यीय सहकारी संस्थाको २०औं वार्षिक साधारण सभामा संस्थाले उनलाई नगद सहित सम्मान पत्रले सम्मान गरेको हो ।

रेडियो सराङकोटका समाचार प्रमुख समेत रहेका प्राज्ञ अथकले विगत साढे २ दशकदेखि पोखरामा रहेर सञ्चारिकरण सँगै भाषा साहित्यको क्षेत्रमा विशेष योगदान पुरयाएको भन्दै नगद सहित सम्मान गरिएको संस्थाका अध्यक्ष शिबबहादुर बानियाले बताए ।

कार्यक्रमको उद्‌घाटन गर्दै भास्कर पण्डित एवं संस्थाका सल्लाहकार कमलनयन गौतमले निरन्तरको मेहनत र साधनाले व्यक्ति र संस्थालाई उचाईंमा पुऱ्याउने बताए ।

सो अवसरमा संस्थाले पवन श्रेष्ठलाई वर्ष उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेको छ । त्यसैगरी तीर्थमान प्रधानाङ्गलाई ज्येष्ठ सदस्य सम्मान संगै शर्मीला जिसी, वालकृष्ण बराल र दीग्विजय थापालाई उत्कृष्ट कारोवारी सम्मान गरेको छ ।कार्यक्रममा विभिन्न तहको परीक्षामा उच्च अङ्क ल्याउने शेयर धनीका सन्ततीलाई सम्मान गरिएको छ ।

संस्थाका अध्यक्ष शिवबहादुर बानियाको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार शोभियतबहादुर अधिकारी, सुशीलराज पराजुली, पूर्व अध्यक्ष प्रेमबहादुर जिसी, निवर्तमान अध्यक्ष कृष्णबहादुर थापा, सञ्चालक सदस्य ईन्द्रकमल मानन्धर, उपाध्यक्ष राममणि पौडेल, कोषाध्यक्ष शिवबहादुर थापा, लेखा समिति संयोजक कुलप्रसाद सुवेदी, व्यवस्थापक सुरेन्द्र थापा र सचिव जयराम पौडेल लगायतले बोलेका थिए ।

कार्यक्रममा अध्यक्ष, सचिव र कोषाध्यक्षका प्रतिवेदन सर्वसम्मत पास भएको सचिव जयराम पौडेलले जानकारी दिए ।