असाेज १७ गते २०८३

प्रस्याङ बगैंचापार्क ज्ञानमहायज्ञको आयव्यय सार्वजनिक, खर्च कटाएर २ करोड ५४ लाख बढी बचत

 

पोखरा १७, असोज

पोखरा महानगरपालिका वडा नम्बर ५ मा रहेको पर्स्याङ बगैचा पार्क व्यवस्थापन समिति तथा सन्तानेश्वर महादेव मन्दिर पुनर्निर्माण समितिको संयुक्त आयोजनामा सञ्चालित श्रीमद्भागवत ज्ञानमहायज्ञको आयव्यय सार्वजनिक तथा समीक्षा बैठक सम्पन्न भएको छ ।

​शनिबार आयोजित एक विशेष कार्यक्रमका बीच मूल आयोजक समितिले महायज्ञमा भएको कुल आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको हो।

सो महायज्ञ २०८३ भदौ १७ देखि २५ गतेसम्म सञ्चालन भएको थियो ।

​सार्वजनिक विवरण अनुसार महायज्ञ अवधिभर कुल २ करोड ८३ लाख ६५ हजार ५८५ रुपैयाँ आम्दानी भएको छ। जसमा महायज्ञ सञ्चालनका क्रममा भएका सम्पूर्ण खर्चहरू कटाएर २ करोड ५४ लाख ३८६ रुपैयाँ बचत भएको मूल आयोजक समितिका कोषाध्यक्ष देवेन्द्रराज पराजुलीले जानकारी दिएका छन् ।

कार्यक्रममा सहभागीहरुले मन्दिर पुननिर्माणकोलागि उठेको रकम सही सदुपयोग गर्न आग्रह गरे ।

हाल आरएस बिल्डर्स भक्तपुरले रु ४३ लाख ८१ हजार ७ सय ५३ रुपैयाँ ६५ पैसामा पहिलो चरणको ठेक्का सम्झौता गरी फ्रेम निर्माण गरेको समितिले जनाएको छ ।

त्यसैगरी दोस्रो चरणको फिनिसिङको कामकोलागि १ करोड ५९ लाख लागत स्टिमेट भएको समितिको भनाई छ ।

सो अवसरमा बोल्दै अध्यक्ष शिवप्रसाद पराजुलीले महायज्ञबाट उठेको रकम सही व्यवस्थापन गरिने बताए । सो रकम अन्य स्थानमा दुरुपयोग नहुने समेत उनले जानकारी दिए । मन्दिरमा पञ्चमुखी शिवलिङ्ग, शिव पाञ्चायन र पूर्वतर्फ बसाह स्थापना गरिने उनले जानकारी दिए ।

​मन्दिर तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न भएको उक्त समीक्षा तथा आयव्यय सार्वजनिक कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कमल पौडेल ‘अथक’, पोखरा महानगरपालिका कार्यपालिका सदस्य हरिमाया विश्वकर्मा, समाजसेवी हेरम्बप्रसाद कोइराला, इन्जिनियर नरेश कोइराला र समितिका सचिव लक्ष्मणप्रसाद कोइराला लगायतले महायज्ञ सफल पार्न सहयोग पुर्‍याउने सम्पूर्ण भक्तजन तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै बचत रकमको सही सदुपयोग गरी मन्दिर पुनर्निर्माण तथा पार्क व्यवस्थापनको कामलाई पारदर्शी रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।