चैत्र १८ गते २०७८

आँधिखोलाको किर्ते नागरिकता प्रकरणमा म्याद थप गरी अनुसन्धान


कमल पौडेल अथक
पोखरा १७, चैत्र

स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं ३ को कीर्ते नागरिकता प्रकरणमा जिल्ला अदालत स्याङजाले विहीवार म्याद थप गरी अनुसन्धान थालेको छ । सो प्रकरणमा वडा अध्यक्ष विष्णुवहादुर खत्री सहित सचिव बालकृष्ण पौडेल पनि पक्राउ परेका छन् । त्यसैगरी नवराज पौडेल, सीता पौडेल र सोनु पौडेल भनिने सोनु अधिकारी पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । पक्राउ परेका सबै सँग थप अनुसन्धान भै रहेको स्याङ्जाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजिब वस्नेतले जानकारी दिएका छन् । हामीले उनीहरुलाई उजुरी परेपछि पक्राउ गर्यौ र अनुसन्धान सुरु भएको छ । अब थप अनुसन्धान अदालतले नै गर्छ प्रहरी प्रमुख वस्नेतले भने । पर्वतको कुष्मा नगरपालिका २ वस्ने कृष्ण अधिकारी र डोम अधिकारीकी छोरी २० वर्षीया सोनु अधिकारीले आँधीखोला ३ पाख्रीवोट निवासी कृष्णप्रसाद पौडेल र सीता पौडेलको सहोदर छोरी वनेर बंशजको आधारमा नागरिकता लिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यही चैत्र १ गते सोनु अधिकारीले पौडेलको नाममा नागरिकता लिएको जिल्ला प्रसाशन कार्यालय स्याङजाले जनाएको छ । वडाअध्यक्ष र सचिवको मिलेमतोमा कीर्ते फण्डा गरेर नागरिकता लिएको भन्दै स्थानीयले केही दिन अघि प्रहरीमा निवेदन दिएका थिए । कीर्ते फण्डामा संलग्न पाँचै जनालाई अदालतको अनुमतिमा म्याद थप गरी अनुसन्धान भै रहेको र दोषी उपर कानुन अनुसार कारवाही हुने स्याङजाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिएका छन्