पौष १८ गते २०७९

केही दिन चिसो अझै बढ्ने सतर्क रहन विज्ञहरुको सुझाव

काठमाण्डौ, १८ पुस ।

देशभर केही दिनदेखि चिसो ह्वात्तै बढेको छ । एक/दुई दिन अझै चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् । हिमाली र उच्च पहाडी क्षेत्रको तापक्रम माइनसबाट पनि ओरालो लागेको छ।

जुम्ला, जोमसोम, जिरी लगायतका ठाउँको तापक्रम माइनसभन्दा पनि कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरु ठाउँमा पनि चिसो बढेको छ । हिमाली क्षेत्रका केही ठाउँमा हिमपात भएको छ भने तराई मधेसका धेरै ठाउँमा दिउँसो पनि घाम देखिन छोडेको छ । काठमाण्डौ उपत्यका र पहाडी क्षेत्रमा पनि राम्रोसँग घाम लाग्न सकेको छैन । चिसोसँगै प्रदूषण पनि बढेको छ ।

बिहान र बेलुका चिसो अझै बढ्दा वृद्धवृद्धा, बालबालिका, दीर्घरोगी, सुत्केरी लगायतलाई समस्या भएको छ । चिसोकै कारण कतिपय विद्यालय बन्द भएका छन् । चिसो बढ्ने क्रम अझै एक, दुई दिनसम्म रहने जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले बताउनुभएको छ । अहिले हावाको गति उत्तरबाट पश्चिम हुँदै दक्षिणतर्फ रहेकोले हिमालको हावाका कारण र समुद्रको तापक्रम घटेकोले चिसो बढेको उहाँले बताउनुभयो । अहिले समुद्रको तापक्रम बितेको ५० वर्षको तुलनामा कम रहेकोले त्यसको असर नेपालमा पनि देखिएको उहाँले बताउनुभयो ।