फागुन ६ गते २०७८

आज देखी केबलकार वाट सराङकोट ९ मिनेटमै

फागुन ६,पोखरा
पोखराको पर्यटकीय स्थल फेवाताल देखी अर्को पर्यटकीयस्थल सराङकोट डाँडा सम्म केबुलकार मा जान सकिनेभएको छ ।

अन्नपूर्ण केबुलकार प्रालिले निर्माण गरेको पोखरा महानगरपालिका–१८ को सेदीबाट सराङकोटसम्म २ हजार २६५ मिटर लामो ‘अन्नपूर्ण केबुलकार’को व्यावसायिक सेवा शुभारम्भ शुक्रवार देखी भएको छ ।

आगामी नयाँ वर्षमा ‘ग्राण्ड लञ्चिङ’ गर्ने र हालका लागि ‘सफ्ट लञ्चिङ’मार्फत बिहान १० बजेदेखि साँझ ४ बजेसम्म व्यावसायिक संचालन हुनेछ।
केबुलकार संचालनमा आएसँगै फेवातालको किनारबाट झण्डै ९ मिनेटमा सराङकोट पुग्न सकिने कम्पनीले जनाएको छ। अहिले फेवातालबाट सराङकोट जान गाडीमा करिब ३५ देखि ४५ मिनेट समय लाग्छ। केबुलकारको तल्लो स्टेशन समुद्र सतहदेखि ८२४ मिटरमा रहेकामा माथिल्लो स्टेशन एक हजार ४६५ मिटर रहेको छ।

प्राकृतिक सुन्दरताले भरिएको पोखरामा केबुलकार पर्यटकको नयाँ गन्तव्य र रोजाइ बन्नेछ। प्राकृतिक सुन्दरताले विश्वमा नै ख्याति कमाएको सहरमा नयाँ गन्तव्यले पर्यटकको बसाइ लम्बाउन र थप पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास लिइएको छ। केबुलकार सञ्चालनपछि सुन्दर फेवाको किनारबाट केबुलकारमा चढेर ताल र हिमाल हेर्दै सराङकोट डाँडामा पुग्ने अवसर पर्यटकले पाउनेछन्। सराङकोट सूर्योदय र सूर्यास्तसहित हिमाल र तालको दृश्यावलोकनका लागि प्रख्यात छ। केबुलकारमा हालसम्म २ अर्ब लगानी भएको छ।

कम्पनीले नेपालीका लागि ७ सय रुपैयाँ, सार्क राष्ट्रका पर्यटकका लागि ८ सय रुपैयाँ र तेस्रो मुलुकका नागरिकका लागि ९ डलर भाडादर तय गरिएको छ। ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिका लागि भाडामा ५० प्रतिशत छुटको व्यवस्था छ।