पौष २३ गते २०७८

एमालेको जिल्ला अधिवेशन आजदेखिः अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने

काठमाडौं,२३ पुस ।

नेकपा एमालेको जिल्ला अधिवेशन आजदेखि सुरु हुदैँछ । देशभरका ७७ वटै जिल्लामा सुरु हुन लागेको अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयको एक्सन रुमबाट एकैसाथ भर्चुअल माध्यमबाट उद्घाटन तथा सम्बोधन गर्ने भएका छन् ।जिल्ला अधिवेशनले सहमतिमै नेतृत्व छान्ने प्रयास गरिरहेको छ। सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गर्न एमालेले सर्कुलर गरेको छ ।

एमालेले दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक जिल्ला कमिटीका अधिवेशन गर्न लागेको हो । गत मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको मङ्सिर २५ र २६ गते भक्तपुरमा सम्पन्न दोस्रो पूर्ण बैठकले यही पुस २३ गतेका लागि जिल्ला र आउँदो माघ ८ गतेका लागि पार्टीको प्रदेश अधिवेशन गर्ने निर्धारण गरेको थियो ।

मौसमी प्रतिकूलताका कारणले पुस २३ मा जिल्ला अधिवेशन आयोजना गर्न नसकिने हिमाली जिल्लाका हकमा केन्द्रीय कार्यालयसँगको परामर्शमा अर्को मिति तोक्न सकिने एमालेले जनाएको छ ।