श्रावण ५ गते २०७८

आज तुलसी रोप्ने एकादशी


आषाढ शुक्ल–पक्षमा पर्ने हरिशयनी एकादशीलाई एउटा महत्वपूर्ण एकादशीका रूपमा वैदिक शास्त्रहरूमा व्याख्या गरिएको पाइन्छ । श्रृष्टिकर्ता भगवान हरि अर्थात् विष्णु यस एकादशीबाट चार महिनाका लागि पातालमा शयन सुत्न० जाने विश्वास गरिन्छ । त्यहीकारण यस एकादशीलाई हरिशयनी एकादशी या देवशयनी र असारे एकादशी पनि भनिन्छ ।

यो एकादशीका दिन चीर निन्द्रामा गएका भगवान् हरि चर्तुमास सकी एकैचोटि कार्तिक महिनाको हरिबोधिनी एकादशीमा मात्र जाग्ने जनविश्वास पाइन्छ । हरिशयनी एकादशीलाई तुलसीरोपण दिवस पनि भनिन्छ । निर्जला एकादशीको दिन छरेको तुलसीको बिउलाई आजको दिन रोप्दै पूजा गरिन्छ ।

आजको दिन भगवान् विष्णुको प्रतीकको रूपमा घर–घरमा तुलसी रोप्ने गरिन्छ । घर वरपरको हावा स्वच्छ तुल्याउन तुलसीविना भगवान विष्णुको कुनै पनि पूजा आराधनाले पूर्णता पाउँदैन । तुलसी अति उपयोगी वनस्पति हो, यसको पात होस् या फूल सबैले उपयोगी औषधिको काम गर्दछन् ।

रुघाखोकी, ज्वरो जस्ता थुप्रै बिरामीहरूको उपचारमा तुलसी, घरेलु औषधिका उपयोगमा ल्याउने गरिन्छ । तुलसी घरमा रोप्नाले घर वरपर नकारात्मक उर्जाहरू नास हुने मान्यता पनि छ । हिन्दूहरूका लागि तुलसीको निक्कै महत्व रहने गरेको छ । त्यसैले पनि होला प्रायः हिन्दूहरूले आफ्ना घर अगाडि तुलसीको मठ बनाएर राख्छन् । तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ ।