कार्तिक १५ गते २०८०

पोखराको मेगा सहकारी संकटमा, बचतकर्ताहरु बचत फिर्ताको माग गर्दै महानगरको शरणमा

कमल पौडेल अथक
पोखरा १५, कार्तिक
पोखराको न्यूरोडमा रहेको मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेड संकटमा परेको छ । सहकारीका केही संञ्चालकहरुले बचतकर्ताहरुको रकम अपचलन गरेपछि सहकारी संकटमा परेको सहकारी पीडितहरुले वताएका हुन् ।
लामो समयसम्म कुर्दा पनि आफ्नो बचत रकम फिर्ता नपाएपछि बचतकर्ताहरुले बुधवार पोखरा महानगरपालिकाको सहकारी विभागलाई गुहारेका छन् ।
सहकारी विभागको समन्वयमा बततकर्ता र सञ्चालक बीच छलफल भएको छ । छलफलमा अवको १० दिन भित्र जग्गा पास गरेर बचतकर्ताको रकम क्रमश फिर्ता गर्दै जाने सहमति भएको छ ।
त्यसपछि पनि सहकारीका संञ्चालकहरुले बचतकर्ताहरुको रकम फिर्ता गर्न नसके सञ्चालकहरुको सवै जायजेथा रोक्का गर्ने लगायतका पाँच बुदे सम्झौता भएको सहकारी विभाग प्रमुख भरतराज पौडेलले जानकारी दिएका छन् ।
यस अघि गत साउन १२ गते सहकारी विभागको बैठक वसेर ३ महिना भित्र ऋण चुक्ता गरी बचतकर्ताहरुको रकम फिर्ता गर्ने सहमाति भएको र सो मिति पुग्न अझै १० दिन बाँकी रहेको उनले वताए ।
सहकारीमा ऋण लगेकाले नतिरेका कारण समस्या आएको मेगा सहकारीका अध्यक्ष धु्रवराज चालिसले बताए । उनले चाँडै ऋण उठाएर बचतकर्ताका रकम फिर्ता गर्ने पहल गरिने वताए ।
संस्थको कूल शेयर पूजी ३५ करोड भन्दा वढी रहेको बुझिएको छ । संस्थाको भुक्तानी दायित्व २६ करोड ५० लाख र ऋण प्रवाह ३१ करोड रहेको महानगर सहकारी महाशाखा प्रमुख भरतराज पौडेलले जानकारी दिएका छन् ।
सहकारीका बचतकर्ताहरु गंगावहादुर गुरुङ, चित्रवहादुर गुरुङ, दामवहादुर गुरुङ, शान्ति शर्मा लगायतले बैठकमा भएको सहमतिलाई अबको १० दिनसम्म कुर्ने र त्यसपछि पनि रकम फिर्ता नपाए कानूनीरुपमा अगाडि वढ्ने वताएका छन् ।
सहकारीका करिव ९ सय बचतकर्ताहरुको रकम संकटमा परेको बचतकर्ताहरुले वताएका छन् ।

यस अघि पटक पटक आफूले बचत गरेको रकम फिर्ता माग्न फोन गर्दा सहकारीका संञ्चालकहरुले बेवास्ता गरेको र फोन पनि उठाउन छोडेपछि महानगरपालिकालाई समन्वय गरिदिन गुहार गर्दै आएको बचतकर्ताहरुले वताएका छन् ।