फागुन १४ गते २०७९

राष्ट्रिय हेमजा आलु महोत्सवका लागी उपसमितिहरु पूर्णता

हेमजा, १३ फागुन।
यहि चैत २६ गतेदेखि बैशाख ३ गतेसम्म हेमजामा हुन लागेको ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव अन्तरगत गठित विभिन्न उपसमितिलाई पूर्णता दिइएको छ ।
शनिवार बसेको सरोकारवालाको भेलाले यस अघि गठित विभिन्न उपसमितिलाई पूर्णता दिनुका साथै वडाध्यक्ष मोतिलाल तिमिल्सीनाको नेतृत्वमा अनुगमन उपसमिति थप गरेको छ ।
महोत्सवलाई कृषि उत्सवका रुपमा मनाउने गरी तयारी पनि थालिएको छ ।जस अन्तरगत आलुको पहाड निर्माण गर्ने, ताजा तरकारीको प्रवद्र्धन गर्ने, १० देखि १२ वटा आलुका परिकारका स्टल रहने, कृषि झाँकी, माटो जाँच लगायतका कार्यक्रमहरु हुनेछन् ।


भेलालाई सम्बोधन गर्दै मूल आयोजक समितिका संयोजक सुविन श्रेष्ठले ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ महोत्सव गर्न लागिएको स्पष्ट पार्दै सबैको साथ सहयोगमा महोत्सव कृषि उत्सव बन्ने विश्वास व्यक्त गरे ।
मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले हेमजाको पहिचान आलु गाउँका रुपमा जोगाई राख्नु चुनौतिपूर्ण बनेको चर्चा गर्दै यसका लागि कृषिको दिगो व्यवस्थापनमा जोड दिए ।
उक्त भेलामा सांस्कृतिक उपसमिति संयोजक दानबहादुर थापा, पानी बिजुली उपसमिति संयोजक केशव गिरी, प्रचारप्रसार उपसमिति संयोजक निराजन अधिकारी, कृषि परिचालन उपसमिति संयोजक जयराम तिमिल्सिना लगायतले आ आफ्ना उपसमिति अन्तरगत भए गरेका क्रियाकलापका बारेमा जानकारी दिए।
वि.स २०६६ सालदेखि वार्षिक रुपमा चैतमा हुँदै आएको उक्त महोत्सवको पहिलो संस्करण स्थानीय किसान बहुउद्देश्यीय सहकारी संस्थाले, दोस्रो संस्करण तत्कालिन हेमजा गाविसले तथा तेस्रो संस्करणदेखि लगातार विष्णुपादुका क्लवले गर्दै आएको छ ।
कोरोना भाइसर संक्रमणका कारण विगत ३ बर्षदेखि स्थगित महोत्सवलाई यस बर्षदेखि पुनःनिरन्तर दिन लागिएको हो ।
महोत्सव संयोजक सुविन श्रेष्ठको अध्यक्षतामा भएको भेलाको संचालन महासचिव वसन्तकुमार श्रेष्ठले गरेका थिए ।