फागुन २५ गते २०७७

सरकार रूपान्तरण भएपछि पहिलो पटक प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद बैठक

काठमाडौँ,२५ फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक डाकेका छन् ।

सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसलापछि एमाले र माओवादी केन्द्रको गठबन्धनको रूपमा सरकार रूपान्तरण भएपछि उनले पहिलो पटक बैठक राखेका हुन् ।अपराह्न ४ बजे डाकिएको बैठकका एजेण्डाबारे जानकारी नभएको एक मन्त्रीले जनाएका छन् ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवस्थामा सरकार जोगाउन कांग्रेस वा जसपाको समर्थन अनिवार्य लिनु पर्ने अवस्थामा पुगेका प्रधानमन्त्री ओलीले यसबारे पनि परामर्श गर्नेछन् ।सर्वोच्चको फैसलालगत्तै आफू पक्षीय संसदीय दलको बैठक डाकेर माओवादीले समर्थन फिर्ता लिए विश्वासको मत लिने बताएका ओलीलाई कांग्रेस वा जसपासँग गठबन्धन गर्ने भने सजिलो नरहेको जानकारहरू बताउँछन् ।

ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि रूष्ट बनेका ती दलले ओलीलाई साथ दिएमा मात्र उनको नेतृत्वको सरकारले निरन्तरता पाउँनेछ ।संसदमा एमालेसँग १२० सिटबाहेक सरकार बनाउन निर्णायक अवस्थामा रहेका कांग्रेससँग ६३, माओवादी केन्द्रसँग ५३ र जसपासँग ३४ सिट छ ।