असार १७ गते २०८३

पोखराका अग्रज पत्रकार केशवराज पराजुलीको निधन

पोखरा । पोखराका अग्रज पत्रकार केशवराज पराजुलीको ९२ वर्षको उमेरमा निधन भएको छ । उनले गएराति १२ बजे पोखरा ३ स्थित आफ्नै निवास नदीपुरमा निधन भएको हो ।

उनको अन्त्येष्टि बुधबार बिहान ९ बजे सेती नदी किनारको तुलसीघाटमा गरिएको छ । स्वर्गीय पराजुलीका १ छोरा र ४ छोरी छन् ।

उनी पोखराको सञ्चार, शिक्षा र राजनीतिक क्षेत्रका एक आदरणीय व्यक्तित्व थिए । पराजुलीले पोखराको पत्रकारिता क्षेत्रमा इँटा थप्ने काम गरे । उनी ‘जनमत दैनिक’ का संस्थापक सम्पादक हुन् । उनले लामो समयसम्म विभिन्न पत्रपत्रिकामा खोजमूलक लेख तथा रचनाहरु लेखे । उनका केही कृतिहरु पनि प्रकाशित छन् । उनी खोजमूलक लेखनमा बढी रुचि राख्थे ।

शिक्षा र राजनीतिमा पनि उनको उत्तिकै योगदान छ । उनले लामो समय शिक्षण पेसा अँगालेर धेरैलाई ज्ञान बाँडे । उनले नेपाली कांग्रेसको राजनीतिमा समेत सक्रिय भएर काम गरे । उनलाई पोखराको गरिमा बढाएको भन्दै ‘पोखरेली नवरत्न’ बाट सम्मानित गरिएको थियो ।

पराजुलीको निधनले पोखराको सिंगो सञ्चार क्षेत्र शोकमा डुबेको छ । सामाजिक सञ्जालमा उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्नेहरुको ओइरो लागेको छ । उनले पोखराको विकास र परिवर्तनका लागि पुर्‍याएको योगदान सधैँ स्मरणीय रहनेछ ।