श्रावण १३ गते २०७८

बालुवाटारमा सत्ता पक्षीय गठबन्धनको बैठक, माधव नेपालले प्रतिनिधि पठाए

साउन १३ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता पक्षीय गठबन्धनको बैठक जारी छ । बैठकमा नेकपा  एमालेका नेता माधव नेपाल भने अनुपस्थित छन् । नेपालका तर्फबाट नेता विजय पौडेल बैठकमा सहभागी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत गठबन्धनका शीर्ष नेताहरू भने बैठकमा सहभागी छन् ।

आजको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुनेछ । मन्त्रीमण्डलमा चार मन्त्री र एक राज्यमन्त्री मात्रै नियुक्त भएका छन् । त्यस्तै सरकारको न्यूनतम साझा कार्यक्रमका बारेमा पनि छलफल हुने बताइएको छ ।

जसपाको आधिकारिकता विवाद टुंगो लागेसँगै मन्त्रिपरिषद् विस्तार गर्ने सरकारको तयारी छ । निर्वाचन आयोगले गठबन्धनमा रहेका उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिएको थियो ।