फागुन २४ गते २०८२

गण्डकीमा रास्वपाको बर्चस्व

पोखरा । पुराना र स्थापित राजनीतिक दलहरुलाई जिल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले यसपालिको प्रतिनिधि सभा सदस्य निर्वाचनमा अप्रत्यासित जित निकालेको छ । देशैभर उर्लिएको रास्वपाको जनमतले गण्डकीमा पनि नयाँ उभार ल्यायो । गण्डकीका १८ निर्वाचन क्षेत्रमध्ये हालसम्म अन्तिम मतपरिणाममा मनाङ र मुस्ताङ बाहेका क्षेत्रमा रास्वपा विजयी भएको छ । म्याग्दीमा पनि रास्वपाकै समर्थनमा स्वतन्त्र उम्मेद्वार महाविर पुनले चुनाव जिते ।
कास्कीका तीनै क्षेत्रमा रास्वपाले ‘क्लीन स्वीप’ गरेको छ । लामो समयदेखि काँग्रेस र एमालेले आलोपालो जित्दै आएको यहाँ रास्वपाले पहिलो पटक उलटफेर गरेको हो । कास्की १ मा रास्वपाका खडकराज पौडेल भारी मतले विजयी भए । उनी २८ हजार ६ सय ६९ मतान्तरले विजयी भएका हुन् । पौडेलले ३९ हजार ८ सय ८३ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी काँग्रेसका तिलक रानाभाटले ११ हजार २ सय १४ मत ल्याए । एमालेका बैनबहादुर अधिकारीले १० हजार ४ सय २९ मत पाए । नेकपाका राजकाजी गुरुङ करणले २ हजार ४ सय ७९ मत प्राप्त गरे । हर्क साम्पाङको श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दिएका बिलबहादुर लामाले १ हजार १ सय ४१ मत ल्याउँदा राप्रपाका बाबुराम थापाले ९ सय ७८ मत ल्याए । उज्यालो नेपाल पार्टीकी मनीषा द्वाले ६ सय ७० मत ल्याउने बाहेक बाँकी उम्मेदवारले १ सय मत पनि कटाएनन् ।

एमालेले आफ्नो ‘गढ’ मान्दै आएको कास्की २ मा रास्वपाले ऐतिहासिक सफलता हात पारेको छ । २०६४ सालको प्रचण्ड लहरमा समेत कसैले भत्काउन नसकेको एमालेको यो बिरासतलाई रास्वपाका उम्मेदवार उत्तमप्रसाद पौडेलले निकै फराकिलो मतान्तरले ध्वस्त पारिदिएका छन् । पौडेल ३१ हजार ९११ मत प्राप्त गर्दै विजयी बनेका छन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका रश्मि आचार्यले जम्मा ७ हजार ४९३ मत मात्रै पाए । यो नतिजाले एमालेलाई आफ्नै गढमा स्तब्ध बनाएको छ । विजयी पौडेल र आचार्यबीचको मतान्तर २४ हजार ४१८ रहेको छ, जुन कास्कीको चुनावी इतिहासमा निकै ठूलो मानिन्छ । काँग्रेसमा माधवप्रसाद बाँस्तोला ९मधु० तेस्रो भए । उनले ६ हजार ५ सय मत प्राप्त गरे ।
कास्की ३ बाट रास्वपाकै बिना गुरुङ विजयी भएकी छन् । गुरुङले झण्डै तेब्बर मतान्तरले जित निकालेकी हुन् । उनको ३७ हजार ७ सय ५० मत आउँदा निकटतम प्रतिस्पर्धी काँग्रेसका मनोज गुरुङले १२ हजार ७ सय ८० मत ल्याए । तेस्रो बनेका निवर्तमान सांसद एमालेका दामोदर पौडेल बैरागीको ७ हजार ९ सय ६ मत छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुनप्रसाद खनालले १ हजार ५ सय २५ मत ल्याए भने नेपाली कम्युनिष्ट पार्टीका गोपाल गिरीले १ हजार ४ सय ५६ मत पाए ।

लमजुङमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । रास्वपाका धर्म केसी अत्यधिक मतसहित विजयी हुँदा सत्ताका खेलाडी पृथ्वीसुब्बा गुरुङले नराम्रोसँग हार व्यहोरे । केसीले ३३ हजार ८ सय ९८ मत पाउँदा पिएसले १६ हजार ८ सय ७६ मत पाए । काँग्रेसका गमप्रसाद गुरुङ १६ हजार ५ सय ६९ मतमा समेटिए । नेकपाका हरिजंग तामाङले ३ हजार ३ सय ७१ मत ल्याए भने राप्रपाका केविन्द्रजंग गुरुङले १ हजार मत पाए ।
उपनिर्वाचनबाट जिल्ला छिरेको रास्वपा यसपालिको चुनावमा तनहुँका दुवै क्षेत्रमा विजयी भयो । तनहुँ १ मा उपसभापति स्वर्णिम वाग्ले भारी मतान्तरसहित निर्वाचित भएका छन् । उनी २१ हजार ८०९ मतान्तरसहित दोस्रो पटक निर्वाचित भएका हुन् । स्वर्णिमले ३८ हजार ४० मत प्राप्त गर्दै दोस्रोपटक संसदीय यात्रा तय गरेका हुन् । उनका निकटम प्रतिस्पर्धी काँग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ मत पाएका छन् । गोविन्दको स्वर्णिमसँग यो दोस्रो पटकको हार हो । एमालेकी भगवती न्यौपानेले ५ हजार ८३०, नेपाली कम्युनिष्ट पार्टीका विद्यानाथ ढकालले २ हजार ३९३ मत पाए । श्रम संस्कृति पार्टीका काशीराम गुरुङले ९६७, राप्रपाका रामदत्त जोशीले ८२६, उज्यालो नेपाल पार्टीका मञ्जिल रानाले ५०८ मत पाएका छन् ।
क्षेत्र २ मा रास्वपाकै श्रीराम न्यौपाने निर्वाचित भए । उनी ३२ हजार छ सय ८७ मत प्राप्त गरी न्यौपाने निर्वाचित भएका हुन् । निर्वाचन अधिकृत भेषराज पौडेलका अनुसार प्रतिस्पर्धी काँग्रेसका शंकर भण्डारीले १४ हजार एक सय ३४ प्राप्त गरे । एमालेका केदार सिग्देलले ११ हजार ६ सय ६८ र नेपाली कम्युनिष्ट पार्टीका सोमबहादुर थापाले एक हजार ९ सय ५३ मत प्राप्त गरे । यो क्षेत्रमा ६६ हजार ६९८ मत खसेको हो ।

नवलपुरको समेत दुवै क्षेत्र रास्वपाले जितेको छ । क्षेत्र १ मा काँग्रेसका डा। शशांक कोइरालाले ४ पटकको जितलाई ब्रेक लगाएर रास्वपाका राजन गौतम विजयी भए । उनले ५० हजार ९ सय ५४ मत पाउँदा निकटतम् प्रतिस्पर्धी काँग्रेसका बालकृष्ण घिमिरेले १६ हजार २ सय ९३ मत प्राप्त गरेका छन् । एमालेका भागिरथ सापकोटाले ९ हजार १ सय ३१ तथा श्रम संस्कृति पार्टीका भीमचन्द्र गुरुङले १ हजार ७ सय २, नेकपाका लोकप्रसाद भुर्तेलले १ हजार २ सय ४५, राप्रपाका दिपकचन्द्र बस्ताकोटीले १ हजार २ सय २१ मत पाए । अरुले ल्याएको मत १ हजारभन्दा कम छ ।
क्षेत्र २ मा मनीष खनाल निर्वाचित भए । एमालेका तिलक महतलाई फराकिलो अन्तरले पराजित गर्दै उनी प्रतिनिधिसभा निर्वाचित भएका हुन् । खनालले ४१ हजार ३४७ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी महतले १५ हजार ७५५ मत प्राप्त गरे । काँग्रेसका ओमबहादुर घर्तीले १४ हजार ७१३ मत तथा नेपाली कम्युनिष्ट पार्टीका गणेशमान महतोले एक हजार ५३८ मत प्राप्त गरे ।

रास्वपाका बागलुङ १ मा सुशील खड्का र २ मा सोम शर्मा विजयी भएका छन् । क्षेत्र १ मा खड्काले २० हजार ९२७ मत पाउँदा निकटतम् प्रतिस्पर्धी भीमबहादुर रानाले ११ हजार ९४४ मत पाए । एमालेका हिराबहादुर खत्रीले ८ हजार ६४० तथा जनमोर्चाका कृष्णप्रसाद शर्मा अधिकारीले ४ हजार ५२१ मत पाए । ९८ हजार ४६ मतदातामा रहेको यहाँ ४८ हजार ९३२ ले मतदान गरेका थिए ।
क्षेत्र २ मा शर्माले १२ हजार ६४७ मत ल्याएर विजयी भए । निकटतम् प्रतिस्पर्धी काँग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत ल्याए । शर्मा र पौडेलको ७७९ मतको अन्तर परेको छ । नेकपाका ज्ञामनाथ गैरेले १० हजार ७०९, एमालेकी मन्जु शर्माले ७ हजार ८६४ मत पाइन् । यस क्षेत्रमा राप्रपाका अञ्चल शाहीले २४३ मत पाए । ९५ हजार ३३५ मतदाता रहेको यस क्षेत्रमा कुल ४७ हजार २०७ मत खसेको थियो ।
पर्वतमा रास्वपाका सागर भुसालले अत्यधिक मतले जित निकाले । उनले २६ हजार ५ सय ६१ मत ल्याएर विजयी भएका हुन् । यहाँ नेपाली काँग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशी पराजित भए । उनले १५ हजार ९ सय ५४ मत ल्याए । उनले यस क्षेत्रमा ४ पटक हारिसकेका छन् । नेकपा एमालेका पदम गिरीले १५ हजार ७५ मत ल्याएका छन् । गिरीले यस क्षेत्रमा विगतमा जित्दै आएका थिए ।

स्याङ्जा क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा। धनञ्जय रेग्मी विजयी भए । रेग्मीले २९ हजार ७१ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकाल १० हजार २१४ मतान्तरले पराजित भए । उनले १८ हजार ८५७ मत प्राप्त गरे । एमालेका मीनप्रसाद गुरुङ तेस्रो भए । उनले १६ हजार ८०४ मत प्राप्त गरे ।

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा। महाविर पुन निर्वाचित भएका छन् । २२ हजार ८५० मतका साथ उनी निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरे । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका उनी शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत रुपमा पहल गर्ने मुद्दा अघि सार्दै चुनावमा लड्न आएका हुन् । यहाँबाट नेपाली काँग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ८८४ र नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत प्राप्त गरे । म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो।

हिमालपारीको जिल्ला मनाङमा काँग्रेसका टेकबहादुर गुरुङ विजयी भए । शुक्रबार सम्पन्न मतगणना अनुसार उनले नेपाली कम्युनिष्ट पार्टीकी यशोदा सुवेदीलाई १ हजार ९ सय ६१ मतान्तरले जितेका हुन् । गुरुङको २ हजार ४ सय १५ मत आउँदा सुवेदीले ४ सय ५४ मत ल्याइन् । मंगोल नेशनल अर्गनाइजेसनका रामबहादुर घलेले ९ मात्रै मत पाए । मनाङमा काँग्रेसलाई वाकओभर दिएर एमाले र राप्रपाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका थिए ।
यस्तै, मुस्ताङबाट काँग्रेसका योगेश गौचनले एमालेका इन्द्रधारा विष्टलाई हराएर जित निकालेका छन् । उनी अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी भएका थिए । काँग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरासमेत रहेका उनले १ हजार ५ सय १ अन्तरले जित निकालेका हुन् । गौचनले ३ हजार ३ सय ७ मत ल्याउँदा निकटतम प्रतिश्पर्धी विष्टले १ हजार ८ सय ६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकालीले ७ सय ५९ मत पाउँदा अरु दल निकै कम अंकमा समेटिए ।