मंसिर १२ गते २०८२

पोखरामा शनिबार यःमरी प्रतियोगिता

पोखरा, १० मंसिर
नेवारी कलासंस्कृति र मौलिक परिकारको संरक्षण गर्ने उद्देश्य सहित पोखरामा आगामी शनिबार छैंटौँ यःमरी महोत्सव तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । पोखरा महानगरपालिका४ को आयोजनामा तथा नेवाः मिसा पुचः कास्की र नेवा खल कास्कीको सहकार्यमा पुरानो बजारस्थित गणेशटोल को सडक क्षेत्रमा एक दिने महोत्सव गर्न लागिएको जानकारी गराइएको हो ।
नेवारी समुदायको परम्परा, खानपान र पहिचानलाई जोगाउँदै नयाँ पुस्तामा यसको महत्व पु¥याउने मुख्य उद्देश्यसहित महोत्सव आयोजना गरिएको पोखरा–४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले बताउनु भयो । महोत्सवमा नेवारी परिकारका ६ वटा स्टलसहित अन्य स्थानीय तथा परम्परागत खानाका स्टलहरू पनि राखिने भएको छ । यःमरीको लोकप्रियता बढ्दै गएकाले यसपटक पर्याप्त मात्रामा यःमरी उत्पादन र बिक्रीका लागि पनि तयारी गरिएको वडा अध्यक्ष पराजुलीले बताउनु भयो । साथै विद्यालयस्तरीय नृत्य, गायन, नेवारी झाँकी प्रदर्शनी र ब्यान्डको प्रस्तुति समेत महोत्सवमा समावेश गरिएको अध्यक्ष पराजुलीले जनाउनु भयो । पछिल्लो पुस्तामा यःमरीको आकर्षण उल्लेख्य रूपमा बढेको नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले बताउनु भयो । दर्शकको मागका आधारमा यसपटक पर्याप्त मात्रामा यःमरी उत्पादन गरी व्यवसायिक रूपमा बिक्री वितरण गर्न उहाँले सुझाव दिनुभयो । साथै नालामुख क्षेत्रको पुरानो बस्ती तथा भवनहरूको संरचनात्मक संरक्षणमा महानगरपालिकाले थप ध्यान दिनुपर्ने आवश्यकता रहेको उहाँले बताउनु भयो । नेवाः मिसा पुचः कास्कीकी अध्यक्ष सङ्गीता बज्राचार्यले महोत्सवले नयाँ पुस्तालाई नेवारी कलासंस्कृतिसँग परिचित गराउने महत्वपूर्ण भूमिका खेलिरहेको बताउनु भयो ।