चैत्र १७ गते २०७८

कीर्ते नागरिकता सिफारिस प्रकरणमा स्याङजाको आँधीखोला ३ का वडाध्यक्ष खत्री पक्राउ


कमल पौडेल अथक
पोखरा १७, चैत्र
कीर्ते नागरिकता सिफारिस प्रकरणमा स्याङजाको आँधिखोला गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष विष्णुवहादुर खत्री बुधवार पक्राउ परेका छन् । जिल्ला प्रसाशन कार्यालय स्याङ्जाको आदेशमा बुधवार उनी पक्राउ परेका हुन् ।
यसैबीच कीर्ते नागरिकता प्रकरणमा मुछिएका वडा सचिव बालकृष्ण पौडेल फरार रहेको बुझिएको छ । पौडेलको मोवाइल स्वीच अफ गरिएको छ ।
प्रशासनले सोधपुछको लागि कीर्ते प्रकरणमा वडाअध्यक्षले मुचुल्कामा संलग्न गराएर पेश गरेका पाँच जना स्थानीयलाई पनि स्याङ्जा झिकाएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिएका छन् ।
छोरी नै नभएका स्थानीय कृष्णप्रसाद पौडेलकी छोरी बनाएर वडाअध्यक्ष खत्री र सचिव पौडेलले नागरिकता सिफारिस मुचुल्का बनाएको खुलासा भएपछि यतिवेला सो गाउँमा खैलाबैला मच्चिएको छ । सो ठाउँमा कृष्णप्रसाद पौडेल नामका व्यक्ति भएपनि उनका छोरी छैनन् स्थानीयले भनेका छन् ।
सो नागरिकता सोनु पौडेलको नाममा छ । तर आँधीखोला गाउँपालिका ३ पाख्रीवोट बस्ने कृष्णप्रसाद पौडेलकी छोरी उनी होइनन् । उनका छोरी नै छैनन् कसरी नागरिकता बन्यो ? स्थानीयले प्रश्न गरेका छन् ।
वडा अध्यक्ष खत्रीले बद्नियत पूर्वक आफूहरुको कीर्ते हस्ताक्षर गराएर मुचुल्का खडा गरेको भन्दै उनीहरुले जिल्ला प्रसाशन कार्यालय स्याङ्जामा बुधवार नै निवेदन दिएका छन् । निवेदनमा कीर्ते प्रकरणमा संलग्नमाथि निश्पक्ष छानविन गरी कारवाहीको माग उनीहरुले गरेका छन् ।
उहाँहरु पाँचै जनाको निवेदन यहाँ आएको छ यसवारेमा अनुसन्धान हुनेछ जिल्ला प्रसाशन कार्यालय स्याङ्जाकी सूचना अधिकारी नमीता रेग्मीले भनिन् ।
वडाध्यक्ष खत्री र सचिवको मिलेमतोमा भएको यस्तो अनैतिक कार्यमा ठूलो आर्थिक चलखेल भएको हुन सक्ने उनीहरुले वताएका छन् । स्थानीयवासीले गाउँमा यस्तो अनैतिक कार्य भएको भन्दै वडाध्यक्ष खत्री र सचिव पौडेललाई निश्पक्ष छानविन गरी दोषी उपर हदैसम्मको कारवाहीको माग समेत गरेका छन् ।