फागुन २० गते २०८१

पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा पोखरामा पञ्चायतकालिन झल्को, घन्कियो राजा आउ देश बचाउको नारा

कमल पौडेल अथक
पोखरा २०, फागुन
पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतमा सोमवार पोखराको सडकमा पञ्चायतकालिन झल्को देखियो । पोखराको गणेशटोल, भैरवटोल, मोहोरियाटोल र विन्ध्यवासिनी क्षेत्रमा पञ्चायतकालिन झल्को देखिएको हो ।
भीमसेन टोलमा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम साहदेवको जय होस् भन्दै तुल टाँगिएको थियो । पोखराको गणेशटोलदेखि विन्ध्यवासिनीसम्मको सडक किनारामा मानिसहरुको ताँती थियो ।
उनीहरु हातमा फूल गुच्छा र बुके लिएर पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा पर्खिरहेका थिए । सडकमा पञ्चेवाजा बजिरहेको थियो । पूर्व राजाको सुरक्षार्थ शसस्त्र प्रहरी र जनपथ प्रहरी तैनाथ थियो । साथमा शिव सेना नामको राजावादी नागरिक सेना पनि पूर्व राजाको सुरक्षामा खटिएको थियो ।
दिउसो २ वजे पूर्वराजा गणेशटोल आउने भनेर सामाजिक सञ्जालमा हवला दिईएको थियो । सो थाहा पाएका पत्रकारहरु क्यामेरा, कलम र डायरी लिएर उक्त स्थानमा पुगेका थिए । सँगै सामाजिक सञ्जालमा भ्यु वटुलेर पेट पाल्दै आएका युट्युवरहरु पनि क्यामेरा वोकेर पूर्व राजाको स्वागतको तस्वीर कैद गर्न सडकमा उभिइरहेका थिए ।
करीव २ घण्टा ढिलो गरी दिउसो ४ वजे पूर्वराजा ज्ञानेन्द्र गाडीवाट सडकमा ओर्लिए । तव उनलाई नागरिकहरुले धमाधम हातमा लिएको फूल गुच्छा र बुके थमाउन थाले ।
त्यसपछि नागरिकहरुले राजा आउ देश वचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्दै नारावाजी गरेका थिए । राजालाई फूल थमाउन नागरिकको भीड लागेपछि सुरक्षाकर्मीलाई सुरक्षा दिन हम्मे हम्मे परेको थियो ।
सो अवसरमा पूर्व राजालाई फूल थमाउन राप्रपा मात्र नभएर कांग्रेस, एमाले र माओवादीको जिम्मेवार पदमा रहेर काम गरिसकेका नेताहरु सडकमा लाइनवद्ध भएर वसेका थिए ।
पछिल्लो समयमा देशमा नागरिकले ल्याएको लोकतान्त्रिक गणतन्त्रमाथि केही सीमित नेता र तिनका झोले झाम्टेहरुले हालीमुहाली गर्दै आएको स्वंय नागरिकको गुनासो छ ।
सानो देशमा सात प्रदेश वनाएर नेता व्यवस्थापन र आफ्ना आसेपासे पोष्ने थलो वनाएको प्रति पनि नागरिकहरु उत्तिकै रुष्ट देखिन्छन् ।
नेताहरुको जीवन शैली र व्यवहार प्रति स्वयं नागरिकहरु नै सन्तुष्ट छैनन् । हिजो निरंकुश भनिएका राजा भन्दा अहिलेका छोटे राजाहरु झन् निरंकुश गतिमा अगाडि वढेको भन्दै नागरिकहरुले विकल्पको रुपमा राजा नै देशको साझा हुन सक्ने तर्क पेश गर्न थालेका छन् । देशमा वेथिति र भ्रष्टाचार वढी रहेको छ । महंगीले आकाश छोएको छ । पढेलेखेका युवाहरु दिन प्रतिदिन विदेश पलायन भैरहेका छन् ।
तिनै दलहरु प्रति नागरिकहरु रुष्ट भएको मौका छोपेर पूर्वराजा ज्ञानेन्द्रले पोखरालाई मुकाम वनाएर आसपासका मठमन्दिरको दर्शन गर्ने र जनचासो क्यास गर्ने कोषिश गरिरहेका छन् । पूर्व राजा ज्ञानेन्द्र गत १५ दिनदेखि परिवारका साथ पोखरामा बस्दै आएको राजा निकट श्रोतले जानकारी दिएको छ ।
पछिल्लो समयमा देशका दुइ ठूला दल कांग्रेस र एमाले मिलेर सत्ता चलाएका छन् । सरकारको नेतृत्व गरेका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले छिमेकी राष्ट्र भारत र चीनले कुनै स्थान दिएको पाइँदैन ।
संसदमा तेश्रो दल भएर पनि पटक पटक सत्ताको रसस्वादन गरेको माओवादी केन्द्र प्रतिपक्षमा देखिन्छ । तर माओवादीको विगतमा कहिले कांग्रेस त कहिले एमाले सँग मिलेर सत्तामा रहेर कुनै परिवर्तनकारी काम नगरेकोले जनविश्वास गुमाएको छ । अर्थात् प्रतिपक्षी वनेर खवरदारी गर्ने हैसियतमा देखिदैन । सत्तालिप्साले माओवादीको गति लुलो भै सकेको छ ।
यहि अवसरमा नागरिकहरुको दलप्रतिको वितृष्णा र पूर्वराजा ज्ञानेन्द्रको सक्रीयताले चर्चा पाएको छ । पूर्व राजा ज्ञानेन्द्र प्रतिको नागरिक मोहले वर्तमान सत्तासीन राजनीतिक दलहरुलाई सच्चिने मौका पनि मिल्ने देखिन्छ । तर दलहरुको व्यवहार हेर्दा सच्चिने छनक भने देखिँदैन । सत्ता प्राप्तिमा रम्ने र गुम्दा सडकमा झरेर गाली लगौचमा उत्रिने वानी परेका पुराना दलका नेताहरुको वानी व्यहोरा परिवर्तन हुन सकेको छैन ।
पूर्व राजा ज्ञानेन्द्रले सत्ता छोडेपछि कहिल्यै उत्ताउलो र भड्किलो सन्देश दिएनन् । तर पछिल्लो समयमा फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्व राजा ज्ञानेन्द्रले अब हाम्रो बेला आयो, अव हामी टुलुटुलु हेरेर वस्न सक्दैनौं भन्ने सन्देश जारी गरे । त्यो सन्देशले दलप्रति वितृष्णा भएका नागरिकलाई केही राहत मिलेको देखिन्छ । जे जसो भएपनि नेपालमा राजसंस्था फर्काउने खेलमा भारतको हात रहने वताइन्छ ।
भारतीय त्यो सक्रीयताले नेपालका कांग्रेस, एमाले र माओवादी मध्ये कुनै दललाई राजा स्वीकार्न लगाएर नेपालमा राजसंस्था फर्काउने अभिष्ट सिद्ध गर्न सक्ने देखिन्छ ।
यदि भारतको व्याकफोर्समा नै पूर्व राजा ज्ञानेन्द्रको सक्रीयता वढेको हो भने त्यो पनि सफल नहोला भन्न सकिँदैन । नेपाली नागरिकले राजसंस्था चाहेपनि अन्यथा भारत लगायत छिमेकी शक्ति केन्द्रको व्याकफोर्स विना राजाको सक्रीयता वढेको हो भने त्यो फेरि धोका मात्र हुनेछ । राजनीतिक विश्लेषकहरु भन्छन् पूर्व राजा ज्ञानेन्द्र वेला वखत सडकमा आउँछन् सडक मै विलाउँछन् ।