कार्तिक ४ गते २०७९

पोखरामा गोदावरी मेला सुरु, पोखरालाई ग्रीन सिटीको रुपमा विकास गर्ने मेयर आचार्यको घोषणा


कमल पौडेल अथक
पोखरा ४, कार्तिक
फ्लोरिकल्चर एशोसिएसन नेपाल फ्यान कास्कीको आयोजनामा शुक्रवारदेखि पोखरामा छैटौं गोदावरी तथा तेश्रो गण्डकी प्रादेशिक मेला सुरु भएको छ ।
मेलामा विभिन्न फूल विरुवाका २५ वटा स्टल रहेको फ्यान कास्कीले जानकारी दिएको छ । पोखरा रंगशाला उपल्लो गेटमा आयोजना भएको सो मेला यही कार्तिक ६ गतेसम्म सञ्चालन हुने मेला आयोजक समितिका संयोजक डिलवहादुर गुरुङले जानकारी दिएका छन् ।
मेलाको उद्घाटन गर्दै पोखराका मेयर धनराज आचार्यले पोखरालाई ग्रीन सिटीको रुपमा विकास गरिने वताए ।

उनले पोखराको न्यूरोडमा डिभाइडर वनाएर फूल रोप्ने योजना रहेको सुनाए । तिहार लगत्तै न्यूरोडमा डिभाइडर वनाउन टेण्डर हुने उनले जानकारी दिएका छन् ।
फूलको सून्दरता अन्यत्र खोजेर नपाइने भन्दै आयातित फूल विस्थापित गर्ने सबालमा व्यवसायीलाई सहयोग गर्न महानगरपालिका तयार रहेको उनले वताए । उनले कृषिलाई प्रमोट गर्न महानगरपालिकाले प्रसस्त बजेट छुट्याएको वताउँदै सेतीको किनारमा फेवाको मलिलो माटो ल्याएर फूल खेती गर्न व्यवसायीलाई प्रस्ताव गरे ।
फ्यानका केन्द्रीय अध्यक्ष मीनवहादुर तामाङले नेपालका ४८ जिल्लाका ७ सय व्यवसायी फूल खेतीमा निर्भर रहेको वताए । उनले वार्षिक पौने ३ अर्वको फूलको कारोवार देशभरि हुने गरेको जानकारी दिए । अहिले पनि करीव १० प्रतिशत माला वारिवाट नै ल्याउनुपर्ने अवस्था रहेको उनले वताए ।
संस्थाका अध्यक्ष डिलवहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरिया, संस्थका पूर्व अध्यक्ष दयाकुमार द्धा र सचिव श्रीराम सुवेदी लगायतले वोलेका थिए ।