वैशाख १६ गते २०८१

पर्वतको थापाठानाका ६ सय घर परिवारलाई विद्युतिय चुलो वितरण, फलेवास २, प्रदूषण मुक्त भान्छा सहितको वडा घोषणा

कमल पौडेल अथक
फलेवास १६, बैशाख
रोटरी क्लव अफ पोखरा फिस्टेलले पर्वतको फलेवास नगरपालिका २ थापाठानाका ६ सय घर परिवारलाई विद्युतीय चुलो वितरण गरेको छ ।
ग्रामीण सामुदायिक विद्युतीकरण उपभोक्ता समितिको आयोजना तथा रोटरी क्लव अफ पोखरा फिस्टेल लगायतका संस्थाको सहयोगमा विद्युतीय चुलो वितरण गरिएको हो ।
विद्युतीय चुलो वितरण गरिएसँगै सो वडालाई शनिवार प्रदूषण मुक्त भान्छा सहितको वडा घोषणा गरिएको छ ।
रोटरीले विविध शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा काम गर्ने सिलसिलामा पर्वतको थापाठाना गाउँमा विद्युतीय चुलो वितरण गरेको रोटरी क्लव अफ पोखरा फिस्टेलका डिष्ट्रिक गभर्नर नोमिनी विनोद कोइरालाले वताए । उनले विभिन्न ५ चरणमा विद्युतीय चुलो वितरण गरेको वताए ।
एउटा चुलोको करिव १० हजार पर्ने उनको भनाई छ । वडामा रहेका ७ सय घर परिवार मध्ये त्यहाँ निरन्तर वसोवास गर्ने ६ सय जनालाई प्राथमिकतामा पारेर चुलो वितरण गरिएको उनको भनाई छ ।
सो वडालाई प्रदूषण मुक्त वडा घोषणा गर्दै फलेवास नगरपालिककाका मेयर गंगाधर तिवारीले वडालाई प्रदूषणमुक्त वडा घोषणा गर्न सहयोग गरेकेमा रोटरी क्लव अफ पोखरा फिस्टेल लगायतका दाताहरुको प्रशंसा गरे । उनले चुल्हो वितरण भएपछि अव गाउँ प्रदूषण मुक्त हुने र खासगरी भान्छाको काम गर्ने महिलाहरुको स्वास्थ्य राम्रो हुँदै जाने वताए ।
ग्रामीण सामुदायिक विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष रामहरि श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर शोभा क्षेत्री, रोटरी क्लव अफ पोखरा फिस्टेलका अध्यक्ष भूपेन्द्र गौचन, पूर्व अध्यक्षहरु रमेशप्रसाद कोइराला, विष्णुहरि तिमिल्सिना, शिवप्रसाद पराजुली, पुरन कुवँर, रोटरियन नारायणप्रसाद शर्मा, बलवहादुर थापा, उपभोक्ता समितिका कोषाध्यक्ष उमाकान्त जैसी, सनम बेगम, लक्ष्मी थापा र गणेश पौडेल लगायतले आ आफ्ना भनाई राखेका थिए ।
सो अवसरमा दातालाई संस्थाको तर्फवाट सम्मान गरिएको थियो भने स्थानीय तहमा खटिएर कार्यक्रमलाई सहयोग पुर्याएको भन्दै रोटरी क्लव अफ पोखरा फिस्टेलको तर्फवाट केही व्यक्तिलाई सम्मान गरिएको पूर्व अध्यक्ष शिवप्रसाद पराजुलीले जानकारी दिएका छन् ।