चैत्र २० गते २०८०

फोटोग्राफरको शुभकामना तथा भित्तेपात्रो विमोचन

काठमाडौंं । काठमाडौं फोटोग्राफर संघले आज नयाँ बर्ष २०८१ सालको उपलक्ष्यमा फोटोग्राफरहरुको आपसी सम्बन्ध, सद्भाव प्रगाढ बनाउन शुभकामना आदानप्रदान , चियापान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं स्थित नयाँ बानेश्वरको अर्पण बैंक्वैटमा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न जिल्लाका फोटोग्राफरहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा हास्यकलाकार जितु नेपाल रहेका थिए । प्रमुख अतिथिको मन्तब्य राख्दै नेपालले भने संघले प्रकाशित गरेको नयाँ बर्ष २०८१ सालको भित्तेपात्रोगर्दै आफुले संघको गतिविधिलाई बिगत लामो समयदेखि नियाल्दै आएको र आफु संघको काम देखेर खुशी रहेको बताए । साथै फोटोग्राफी पेशा निकै जटिल पेशा रहेतापनी आफ्नो पेशामा निरन्तर अडिग भएर लागिरहेका सम्पुर्ण फोटोग्राफरलाई आफुले सधैं सम्मान गरिरहेको बताए । काठमाडौं फोटोग्राफर संघको कार्यक्रममा आफू उपस्थित हुन पाउदा गौरवान्वित रहेको र संघको आगामी यात्रामा पनि सारथि बनेर लागिरहने बिश्वास दिलाए ।

कार्यक्रममा काठमाडौं तथा काठमाडौं बाहिर रहेका फोटोग्राफर संघको पनि उल्लेखनीय रुपमा सहभागिता रहेको थियो । संघका उपाध्यक्ष आनन्द प्रभाकर घिमिरेले कार्यक्रममा उपस्थित सम्पुर्ण फोटोग्राफर तथा दर्शकलाई स्वागत गरेका थिए ।

काठमाडौं फोटोग्राफर संघ विगत लामो समयदेखि फोटोग्राफरका हक हितका बारेमा र फोटोग्राफी ब्यवसाय प्रवद्र्धनमा लागी परिरहेको छ । यस्तै किसिमका कार्यक्रमहरुले फोटोग्राफरहरु बिचको आपसी सम्बन्धलाई थप मजबुत बनाउन आगामी दिनमा पनि उत्कृष्ट कार्य गर्दै आफ्नो संघको निम्ति योगदान पुर्याउन र संघले गरेका हरेक गतिविधिहरुमा संस्थाका फोटोग्राफर सदस्यहरुलाई सहयोग गर्न समेत अध्यक्ष हरि प्रसाद घिमिरेले अनुरोध गरेका थिए । साथै उनले नजिकिदै गरेको नयाँ बर्ष मार्फत सबैको सफलता को कामना गरेका थिए ।
कार्यक्रममा संघका सल्लाहकार तथा वरिष्ठ सिनेमेटोग्राफर मन्जु कुमार श्रेष्ठले संघले गर्ने हरेक गतिविधिहरुमा निरन्तर साथ , सहयोग र सद्भाव व्यक्त गरिरहेको र आगामी दिनमा पनि सहयोग गरिरहने बाचा सहित शुभकामना दिएका थिए ।
कार्यक्रम काठमाडौं फोटोग्राफर संघका अध्यक्ष हरि प्रसाद घिमिरेको सभापतित्वमा भएको थियो भने कार्यक्रमको संन्चालन संघका सचिव रेशम राज पण्डितले गरेका थिए ।