असाेज १६ गते २०८०

पोखरामा बजार अनुगमन २ वटा पसललाई कारवाही

कमल पौडेल अथक
पोखरा १६, असोज
बजार अनुगमन समितिले मंगलवार पोखराको बजार अनुगमन गरेको छ । पर्यटन, उद्योग, बाणिज्य तथा उपभोक्ता हित निर्देशनालयको अगुवाईमा सो अनुगमन गरिएको हो ।
अनुगमनको क्रममा पोखरा १७ विरौटाका २ खाद्य पसललाई कारवाही गर्नुको साथै केहीलाई सचेत गराएको छ ।

समितिले पोखरा १७ मा रहेको सरस्वती राइसमिलमा अनुगमन गरी म्याद गुज्रेको परौठा, रंगीन लालिपापड, सावदाना लगायत ४ सय ३५ रुपैयाँ वराबरको म्याद गुजे्रको सामान नष्ट गरेको छ । सो पसलमा प्याकेजिङ गरिएका अधिकांश खाद्य सामानमा लेवल नलगाएको भेटिएपछि चेतावनी स्वरुप २० हजार रुपैयाँ जरिवाना गरेको छ । सो पसलका संञ्चालिका रुपा पौडेललाई ३ दिन भित्र सम्पूर्ण कागजपत्र लिएर निर्देशनालयमा उपस्थित हुन अनुगमन समितिले निर्देशन दिएको छ ।
त्यसैगरी पोखरा १७ रामेश्वर मार्गमा रहेको आईके किराना पसलमा अनुगमन गरी सो पसलमा म्याद गुजे्रका सामान भेटिएपछि सो पसललाई ५ हजार जरिवारना गरेको छ । पसल संञ्चालक लेखनाथ आचार्यलाई तीन दिन भित्र सम्पूर्ण कागजपत्र सहित निर्देशनालयमा उपस्थित हुन अनुगमन समितिले निर्देशन दिएको छ । सो पसलवाट समितिले म्याद गुज्रेका चाउचाउ, पोटाटो क्रेकर, मिठो तितौरा, न्यू बागेश्वरी पाउ लगायतका सामान गरी ९ सय ३० रुपैयाँ वरावरको सामान नष्ट गरेको छ ।
समितिले पोखरा १७ पावरहाउस मार्गमा रहेको रोक्का किराना पसलमा रहेको २९ प्याकेट बागेश्वरी पाउँ, २१ प्याकेट ढुङ्गी, २ पोका वदाम, ८ पोका सरसिम, ८ पोका टिमुर, कोशेली लालमोट १ प्याकेट, स्पेशल मसला १३ प्याकेट, अमिली १ पोका, १ बोतल ५ हजार नामको वियर लगायतका सामन गरी १ हजार ७ सय ७५ मूल्य वरावरको म्याद गुज्रेको सामान जफत गरी नष्ट गरेको छ ।
सो पसलका संञ्चालक सुमन रोक्कालाई पहिलो पटक पसलको व्यवस्थापन सुधार गर्न निर्देशन दिएको छ । फेरि पनि यस्तै भेटिए कानून बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ ।
पर्यटन उद्योग बाणिज्य तथा उपभोक्ता हित निर्देशनालय पोखराका निर्देशक नारायण ढकालको संयोजकत्वमा भएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रतिनिधि, उपभोक्ता मञ्चका प्रतिनिधि, प्रदेश उद्योग वाणिज्यसंघका प्रतिनिधि, खाद्य कार्यालय कास्कीका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रतिनिधि, गुणस्तर तथा नाप तौल कार्यालयका प्रतिनिधि र संञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।