भाद्र ७ गते २०८०

नेपा मिनरल वाटरको बोतलमा लेदो भेटिएपछि उद्योगमा शिलवन्दी

कमल पौडेल अथक
पोखरा ७, भदौ
पोखरा १८ भकुण्डेमा रहेको नेपा मिनरल वाटर उद्योग प्रालिमा बुधवार बजार अनुगमन समितिले शिलबन्दी गरेको छ ।
उद्योगले उत्पादन गरी बजारमा विक्री गर्दै आएको ६० नंम्वर व्याचको पानीका बोतल भित्र सेतो लेदो फेला परेपछि सो उद्योगमा शिलवन्दी गरिएको हो । सो उद्योगका संञ्चालक भीपप्रसाद तिमिल्सिना हुन् ।
यही भदौ ४ गते गण्डकी प्रदेश सरकारले पोखराको लेकसाइड स्थित एक रिसोर्टमा आयोजना गरेको कार्यक्रममा होटलले सो कम्पनीको पानी वितरण गरेको थियो ।
सो पानीमा सेतो लेदो भेटिएपछि सहभागीले सो उद्योगको अनुगमन गरी कारवाही गरिपाउँ भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीमा निवेदन दिएका थिए ।
सोही निवेदनको आधारमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको नेतृत्वमा खटिएको अनुगमन टोलीले उद्योगको अवस्था अनुगमन गरी शिलवन्दी गरेको छ ।
सो पानी उद्योगका संञ्चालकलाई विहीवार विहान १० बजे कागजपत्र सहित जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित हुन अनुगमन टोलीले निर्देशन दिएको छ ।
शिलबन्दी गरिएको उद्योग र त्यसका संञ्चालकलाई उपभोक्ता हीत संरक्षण ऐन २०७४ तथा उपभोक्ता संरक्षण ऐन २०७५ मा व्यवस्था भए अनुसार कारवाही हुने अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको अगुवाईमा भएको अनुगमनमा पर्यटन तथा घरेलु उद्योग कार्यालका प्रमुख शेषकान्त शर्मा, खाद्य निरिक्षक शिवजी वराल, उपभोक्ता मञ्च कास्कीका प्रतिनिधि, वडा प्रहरी कार्यालय बैदामका प्रतिनिधिको सहभागिता रहेको थियो ।
उद्योगका संञ्चालक भीमप्रसाद तिमिल्सिनाले ६० नंम्वर व्याचको पानीमा लेदो भेटिएको गुनासो आएपछि बजारमा पठाएको पानी उद्योगमा फिर्ता ल्याइदिन भनेको वताएका छन् । उद्योगले पानीको मूल्य पनि बढी लिएको र पटक पटक गुनासो आएकोले उद्योगलाई चेतावनी स्वरुप शिलवन्दी गर्नु परेको अनुगमन समितिको भनाई छ ।