पौष १८ गते २०७९

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार पाठकलाई नागरिक अभिनन्दन

पोखरा, १८ पुस ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना गर्नुहुने तत्कालीन गण्डकी अञ्चलका अञ्चलाधीश शङ्करराज पाठकलाई पोखरामा रथारोहणसहित नागरिक अभिनन्दन गरिएको छ । पोखरा महानगरपालिकाले ९१ वर्षीय पाठकलाई हिजो अमरसिंह चौरदेखि विमानस्थलसम्म रथारोहणसहित अभिनन्दन गरेको हो ।

विमानस्थल उद्घाटनअघि हजारौँ पोखरेलीको सहभागितामा रथारोहण गरिएको हो । पोखरामा २०२९ सालदेखि २०३४ सालसम्म अञ्चलाधीश रहनुभएका पाठकले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्छ भनेर पोखरा–१४ को छिनेडाँडामा त्यसबेला तीन हजार रोपनी जमिन अधिग्रहण गर्नुभएको थियो । साथै आधुनिक पोखराको खाका तयार गरेको श्रेय पनि उहाँलाई जान्छ ।

जग्गा अधिग्रहणको ४७ वर्षपछि बल्ल पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएको हो । यस खुशीयालीमा महानगरले पाठकलाई सम्मान गरेको महानगरका मेयर धनराज आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ुपोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि पाँच दशकअघि परिकल्पना गर्नुहुने तत्कालीन अञ्चलाधीश पाठकलाई उहाँको योगदानको कदरस्वरूप अभिनन्दन गरेका हौँ । अर्का परिकल्पनाकार इञ्जिनीयर पदमबहादुर खत्री देशबाहिर रहेकाले उपस्थित गराउन सकेनौँ ।ु

विमानस्थलका परिकल्पनाकार पाठकलाई उद्घाटन समारोहमा नेपाल नागरिक उड्डयन प्राधिकरणका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कदरपत्रबाट सम्मान गर्नुभएको थियो । पोखरामा जमिन अधिग्रहण गरिएको ४७ वर्षपछि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको हो । विमानस्थलको उद्घाटन समारोहमा हजारौँ पोखरेलीले सहभागिता जनाएका थिए । विमानस्थल उद्घाटनसँगै आन्तरिक उडान त्यही विमानस्थलबाट सञ्चालन भएका छन् ।