चैत्र २४ गते २०७८

नुनको कालोबजारी गर्ने दुगड एमाले सामाजिक सेवा केन्द्रका संयोजक

काठमाडौं, २४ चैत ।

नेकपा एमालेले समाजसेवा र मानवीय सेवाको नयाँ अभियान भन्दै कोरोनाको महामारीमा नुनको ‘नाफाखोरी कालोबजारी’मा नाम जोडिएका मोतीलाल दुगडलाई सामाजिक सेवा केन्द्रको संयोजक बनाएको छ ।
नाम सामाजिक सेवा केन्द्र बनाउने र त्यसको संयोजक भने आयोडिनयुक्त नुनको कालोबजारीमा नाम जोडिएका व्यक्ति दुगडलाई बनाएपछि एमालेमाथि सामाजिक सञ्जालमा व्यंग्य गरिरहेको समेत पाइएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा गत आइतबार आयोजित कार्यक्रममा सो संस्थाको स्थापना गरेको घोषणा गर्दै संयोजक मोतीलाल दुगडलाई तोके । तिनै दुगडको नाम भने नेपालमा कोभिड–१९ को महामारीको समयमा आयोडिनयुक्त नुनको नाफाखोरी कालोबजारी गर्नेमा जोडिएको छ।
मोरङस्थित उनको ‘दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्स प्रालि’ले कानुनी मापदण्ड पूरा नगरी सेन्चुरी टेवल साल्टको नामबाट नुन प्याकेजिङ गरी बिक्री वितरण गरेपछि उनको नाम नुनको कालोबजारीयाको नाममा जोडिदै आएको हो।
यसरी गरेका थिए दुगडले नुनको कालोबजारी
एमालेको तर्फबाट मोतीलाल दुगड तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बने। उति नै बेला उनले पद र पावरको दुरुपयोग गर्दै साल्ट ट्रेडिङले बजारमा २० रुपैयाँ बेच्दै आएको आयोडिनयुक्त नुन उठाएर सानो बट्टामा हालेर कानुन विपरित ३२ रुपैयाँमा बेचेर कालोबजारी गरेको साल्ट ट्रेडिङ लिमिटेडले बताउँदै आएको छ। साल्ट ट्रेडिङको अनुमति बिना नै २० रुपैयाँमा बजारबाट नुन उठाएर त्यसलाई रिप्याकिङ गरी ३२ रुपैयाँमा बेच्नु गैरकानुनी काम भएको लिमिटेडले बताउने गरेको छ।
नेपालको कानुन अनुसार कुनै पनि खाद्य वस्तु उत्पादन तथा प्याकेजिङ गरेर बिक्री वितरण गर्न उद्योगले अनिवार्य रूपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुज्ञापत्र लिनुपर्छ । विभागको स्वीकृतिविना बिक्री वितरण गर्न नपाइने कानुनी प्रावधान छ। तर, राज्यमन्त्री भएका बेला दुगडको उद्योगले विभागबाट अनुज्ञापत्र र विभागको स्वीकृतविना नै बजारमा नुन प्याकेजिङ गरेर बिक्री गरेको थियो।
दैनिक उपभोग्य वस्तुमध्येको खाद्य नुनको उपयोग, प्रयोग, गुणस्तर तथा मूल्य आदिका सम्बन्धमा नेपाल सरकारले तोकेको मापदण्डअनुसार उत्पादन, सञ्चय बिक्री वितरण गर्ने काम २०२० सालदेखि नै साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत् मात्र हुँदै आएको छ। तर, दुगडले अनाधिकृत रूपमा नुनको प्याकेजिङ, सञ्चय तथा बिक्री वितरण गरेर प्रचलित कानुनको नै धज्जी उठाएको थियो।
खाद्य ऐन २०२३ को दफा ७ बमोजिम खाद्य पदार्थको गुणस्तर तोक्ने अधिकार नेपाल सरकारलाई मात्र रहेको छ भने २३ माघ २०७५ मा नेपाल राजपत्रको ३ खण्डको ५० संख्या ४२ मा प्रकाशित सूचनामा आयोडिनयुक्त नुनको गुणस्तर निर्धारण गरिएको छ। तर, सेन्चुरी टेबल साल्टको प्याकेटमा प्रोडक्सन कन्सिस्ट्रिङ इन्डर फुड ल अफ नेपाल मात्र उल्लेख गरी सर्वसाधारण उपभोक्तालाई झुक्याउने काम समेत गरिएको थियो।
दुगडको उद्योग विरुद्ध विभिन्न निकायमा उजुरी परेपछि गैरकानुनी काम रोकिएको थियो। पछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई विशेष आर्थिक सल्लाहकार नियुक्त गरे। अहिले एमालेले उद्योग विभागको प्रमुख समेत तोकेको छ। गैरकानुनी काम गर्दा पनि पद र पावरका कारण उनीमाथि कुनै कारबाही भने भएन। तर, उनले सो समयमा गैरकानुनी ढंगले नुन बेचेर असीमित नाफा कुम्ल्याउन सफल भएको चर्चा हुने गरेको छ।
कालोबजारीको विरोध
गैरकानुनी ढंगबाट नुनको कालोबजारी भएपछि तत्कालीन पाँच दलीय गठबन्धनले विज्ञप्ति नै जारी गरेर उक्त कामको विरोध गरेको थियो। २०७८ जेठ २२ गते कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, तत्कालिन नेकपा एमाले बरिष्ठ नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले विज्ञप्ति जारी गरेर जनताले सुलभ रुपमा पाइरहेको आयोडिनयुक्त नुनमा समेत सरकारले कमिशन र नाफाखोरहरुलाई खुसाएर त्यसको बोझ जनताको थाप्लोमा हाल्ने षड्यन्त्र गरेको उल्लेख गरेको छ।
त्यसैगरी राष्ट्रिय उपभोक्ता मञ्चले गैरकानुनी रुपमा नुनको कालोबजारी भइरहेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र नै बुझाएको थियो। मञ्चका अध्यक्ष प्रेमलाल महर्जन नेतृत्वको टोलीले २०७७ असोज १६ गते अवैध तथा गैरकानुनी ढंगले नुनको उत्पादन, प्याकेजिङ र विक्री वितरण गरेकोले कार्बाही गरिपाउँ भनेर ज्ञापन पत्र बुझाएको थियो।
कालो बजारीका अभियुक्त छुटाउनेमा पनि जोडिन्छ उनको नाम
मोतिलाल दुगडको नाम कालाबजारी गर्दैगर्दा ‘रंगेहात’ पक्राउ परेका एक व्यापारी छुटाउन दबाब दिनेको नामबाट पनि परिचित छ। उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री भएकै बेला मोतीलाल दुगड प्रहरी कार्यालय पुगेर कालोबजारी छुटाउने दबाब दिएका थिए। राज्यमन्त्री दुगड हिरासतमा रहेका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई छुटाउन दरबार मार्गस्थित प्रहरीवृत्त पुगेका थिए।
त्यसपछि नेकपा स्थायी समिति सदस्य भीम रावलले कालाबजारी छुटाउन दवाव दिँदै हिड्ने राज्यमन्त्री मोतीलाल दुगडलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गरेका छन्। ‘थर्मल गन’को कालाबजारी गर्दैगर्दा किर्गिस्तानका अवैतनिक महाबाणिज्य दूतसमेत रहेका अग्रवाललाई प्रहरीले ‘रंगेहात’ पक्राउ गरेको थियो। पाँच हजार पनि नपर्ने ६७ वटा ‘थर्मल गन’ १५ हजारमा बिक्री गर्दै गर्दा अग्रवाल पक्राउ परेका थिए।