जेठ २४ गते २०८०

वातावरण पत्रकारिता पुरस्कार पोखराका कृष्णमणी बराललाई

काठमाडौँ, जेठ
नेपाल वातावरण पत्रकार समूह ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार–२०२२ पोखराका पत्रकार कृष्णमणी बराललाई प्रदान गर्ने निर्णय गरेको छ । बराल अन्नपूर्ण दैनिकमा पोखरामा कार्यरत छन भने उनि पोखराका सक्रिय फोटोपत्रकारका रुपमा चिनिन्छन् । उनि नेपाल फोटो पत्रकार संघ कास्कीका पूर्व अध्यक्ष तथा बर्तमान सल्लाहकार पनि रहेका छन।

समूहले प्रत्येक वर्षको जुन ५ मा विश्व वातावरण दिवसको अवसरमा पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । सन् २०२२ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरु मध्येबाट छनौट गरी सान्दर्भिकता, मौलिकता, भाषा शैली र तथ्य–तथ्याङ्कक आधारमा मूल्याङ्कन गरेर यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।

पुरस्कारका लागि समूहले पत्रकारहरुलाई सन् २०२२ भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो । समूहका पूर्व अध्यक्ष राजेन्द्र दाहालको संयोजकत्वमा समूहका पूर्व माहासचिव रमेश भुषाल र विज्ञ सदस्य डा। हुम गुरुङ सम्मिलित तीन सदस्यीय निर्णायक मण्डलको शिफारिसका आधारमा पुरस्कारको निर्णय गरिएको हो ।
यो पुरस्कार समूहको आगामी साधारणसभाको दिन हस्तान्तरण गरिने छ ।