पौष १४ गते २०७८

पोखरामा १ सय २ बर्षीया ज्येष्ठ नागरिक सम्मानित


कमल पौडेल अथक
पोखरा १४, पुस

जेष्ठ नागरिक सरोकार समाज नेपाल कास्कीले १ सय २ वर्षीया ज्येष्ठ नागरिक मानकुमारी श्रेष्ठलाई सम्मान गरेको छ ।
समाजका अध्यक्ष भक्तराज श्रेष्ठको अगुवाईमा मंगलवार पोखरा ३२ लामेआहालमा रहेको राधाकृष्ण बृद्धाश्रममा पुगेर उनलाई सम्मान गरेको हो ।
उनलाई सम्मान पत्र दोसल्ला र माला ओढाएर सम्मान गरिएको ज्येष्ठ नागरिक सरोकार समाज नेपाल कास्कीले जनाएको छ । पोखरा ८ सिमलचौर घर भएकी उनी २०६९ सालदेखि सो आश्रममा आश्रय लिँदै आएको वुझिएको छ ।
सो कार्यक्रममा समाजका सचिव इच्छावहादुर वाग्लेले आफना माता पिताको नाउँमा स्थापना गरेको अक्षयकोषवाट प्राप्त व्याज १० हजार २ सयको खाद्यान्न आश्रमलाई हस्तान्तरण गरेका थिए ।
संस्थाका अध्यक्ष भक्तराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष केशबप्रसाद ढकाल, सचिव इच्छावहादुर वाग्ले, सदस्य त्रिभुवन शर्मा, हरिचन्द्र आचार्य, मैना ओझा, विष्णु कोइराला, नुरप्रसाद पराजुली, लोकमाया लामिछाने, पार्वती लामिछाने लगायत ५८ जना ज्येष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो ।
संस्थाले १ सय वर्ष पूरा गरेका जेष्ठ नागरिकलाई घरमै गएर सम्मान गर्ने नीति अनुसार ११ जना ज्येष्ठ नागरिकलाई घरमै गएर सम्मान गरेको छ । त्यसैगरी ८५ वर्षदेखि १०० वर्ष भित्रका ८५ जना नागरिकलाई सम्मान गरेको उपाध्यक्ष केशवप्रसाद ढकालले जानकारी दिएका छन् ।