मंसिर २३ गते २०७८

सराङकोटमा पार्किङ शुल्क उठाउनेवारे पोखरा महानगर र स्थानीय संघ संस्था बीच विवाद


कमल पौडेल अथक
पोखरा २२, मंसिर

पोखराको सराङकोट भ्यु टावर क्षेत्रमा पार्किङ शुल्क उठाउने विषयमा विवाद उत्पन्न भएको छ ।
पोखरा महानगरपालिका कार्यालयले सो क्षेत्र टेण्डरमा लगाएपछि स्थानीय संघ संस्था,विद्यालय र महानगरपालिका बीचमा विवाद उत्पन्न भएको हो ।
बुुधवार सो स्थानमा पक्ष र विपक्ष बीच दोहोरो घम्सा घम्सी हुन थालेपछि पोखरा महानगरपालिका कार्यालयले जिल्ला प्रहरी कार्यालयमा सुरक्षाको लागि निवेदन गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवं प्रबक्ता सुन्दर तिवारीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयले शान्ति सुरक्षाको लागि सराङकोट प्रहरीलाई परिचालन गरेको उनले वताए । पार्किङ शुल्कका वारेमा विवाद हो, अव केही दिन दुवै पक्षले नउठाउने त्यसपछि छलफल गरेर निर्णय गर्ने कुरा भएको तिवारीले जानकारी गराए ।
पोखरा महानगरपालिका कार्यालयले सो स्थान मेन्स बील्डर्स कम्पनीलाई वार्षिक ३२ लाख रुपैयाँमा ठेक्कामा लगाएको कर अधिकृत गणेश पाण्डेले जानकारी दिए ।
टेण्डरवालाले रकम उठाउन सुरु गरेपछि स्थानीय संघ संस्था र विद्यालयले विवाद निकालेको उनले वताए । सो पैसा राज्यको हुनु पर्छ कुनै संघ संस्थाको होइन उनले भने ।
संघ संस्थाका प्रतिनिधिलाई यसअघि महानगरले पटक पटक वोलायो तर उनीहरु आएनन् अहिले ठेक्का लगाइसकेपछि बखेडा निकालेका छन् । यो जायज छैन उनको भनाई छ ।
स्थानीय संघ संस्थाहरुले आफ्नो क्षेत्रको पार्किङ शुल्क आफै उठाउन पाउनु पर्ने र स्थानीय पूर्वाधार विकासमा लगाउनु पर्ने वताएका छन् । यता महानगरपालिकाले सो क्षेत्रको लागि पटक पटक करोडौ रुपैयाँ दिएको र अझै पनि आवस्यक रकम दिन तयार रहेको जनाएको छ । त्यहाँको पैसा हामीले संकलन गरेपनि लगानी त्यहीँ गर्ने हो महानगरका वरिष्ठ कर अधिकृत कृष्णप्रसाद तिवारीले भने ।
महानगरका कार्यवहाक प्रमुख मञ्जुदेबी गुरुङले स्थानीय संघ संस्थाका प्रतिनिधिहरुलाई महानगरमा बोलाउँदा नआएको वताएकी छन् । सवै पक्ष वसेर सहमतिमा जानु पर्ने उनको भनाइ छ । उनले अब छिट्टै बैठक वस्ने समेत जानकारी दिएकी छन् ।