श्रावण ३२ गते २०७८

फिल्म सुटिङको गाडी दुर्घटना हुदा एकको मृत्यु, आठजना गम्भीर

पोखरा ,३२ साउन ।म्युजिक भिडिओ छायांकन सकेर पोखरादेखि काठमाडौंतर्फ फर्किरहेको गाडीलाई विपरित दिशाबाट आइरहेको भारतीय नम्बर प्लेटको गाडीले ठक्कर दिएको छ ।

धादिङको गजुरीमा राती साढे १ बजे भएको उक्त दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना फिल्म प्राविधिक गम्भीर घाइते भएका छन् । १४ जना फिल्म प्राविधिक चढेको बा ३ ख ४०१४ नम्बरको उक्त ह्याचरलाई ठक्कर दिएको हो ।

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार दुर्घटनामा २६ वर्षिया रेनु कुलुङ राईको घटनास्थलमै मृत्यु भएको छ । मृतक युवती म्युजिक भिडिओ निर्देशक परी कुलुङ राईकी बहिनी समेत हुन् । अन्य घाइतेहरुमा फिल्म प्राविधिकहरु दीर्घ गुरुङ, रमेश सुनुवार, श्याम तामाङ, विनोद लामा, नारायण गुरुङ, दीपेन्द्र थपलिया, चालक विजय र सोनी कुलुङ राई गम्भीर छन् ।

घाइते सबैको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भैरहेको छ । प्राविधिक संघ नेफ्टाले उपचारमा आर्थिक सहयोग गरेको छ । ठक्कर दिने गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।