माघ २० गते २०७७

प्रधानमन्त्री ओलीद्धारा बुधबारका लागि बोलाइएको संवैधानिक परिषद् बैठक स्थगित

काठमाडौं, २० माघ ।

बुधवारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित गरिएको छ । यसअघि बुधबार बिहान ११ बजे बोलाइएको बैठक पछि सोही दिन साँझ ५ बजेलाई सारिएको बताइएको थियो । तर अब अर्को सूचना नभएसम्मका लागि उक्त स्थगित गरिएको जनाइएको छ ।

बैठक बोलाउनु र स्थगित गर्नुको कारण केही खुलाइएको छैन । प्रधानमन्त्रीसहित, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख र प्रमुख प्रतिपक्षीदलका प्रमुख नेता सदस्य रहने उक्त परिषदको बैठकमा विघटित प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा सहभागी नहुने बताइएको थियो ।

यसअघिको संवैधानिक परिषद बैठकबाट निर्वाचन आयोग, अख्तियार र मानवअधिकार आयोग लगायतका निकायमा गरेको विवादास्पद सिफारिस सभामुख सापकोटाले माघ १८ आइतबार फिर्ता गर्नुभएको थियो ।

गत मंसिर ३० गते बिहान बसेको परिषद् बैठकमा बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि प्रधानमन्त्रीले अध्यादेशमार्फत् कानुन संशोधन गरेर सो साँझ बैठक राख्नुभएको थियो । बैठकमा सभामुख र विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित हुनुहुन्थ्यो ।