माघ ५ गते २०७७

नेपालमा नयाँ प्रकारको कोरोना भाइरस भेटियो

काठमाडौं, ५ माघ ।

नेपालमा नयाँ प्रकारको कोरोना भाइरस भित्रिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नयाँ प्रजातिको उद्गमस्थल बेलायतबाट केही दिन अघि आएका ६ जना मध्ये तीनजनामा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ। नयाँ प्रकारको भाइरसको संक्रमण भए नभएको पत्ता लगाउनका लागि उनीहरुको नमुना विश्व स्वास्थ्य संगठनको सहयोगमा पुष २७ गते हङकङको प्रयोगशालामा पठाइएको थियो।

त्यसको रिपोर्ट माघ ५ गते (सोमबार) प्राप्त भएको मन्त्रालयले जनाएको छ। नयाँ प्रकारको कोरोना भाइरसबाट संक्रमित हुनेमा २८ वर्षकी महिला तथा ६७ र ३२ वर्षका पुरुष छन्। २८ वर्षकी महिला र ३२ वर्षका पुरुष हाल संक्रमणमुक्त भइसके पनि ६७ वर्षीय पुरुषमा भने अझै पनि संक्रमण कायम रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन्। मन्त्रालयले उनीहरुको ठेगाना खुलाएको छैन।