श्रावण १८ गते २०७८

अस्पतालमा बढ्न थाले बिरामी, दोस्रो लहर उत्कर्षकै झल्को

काठमाडौं, १८ साउन । कोरोना संक्रमितको संख्या बढेसँगै राजधानीका अस्पतालमा बिरामीको चाप फेरि बढेको छ । कोरोना महामारीको दोस्रो लहर उत्कर्षमा पुगेको समय अर्थात वैशाख मशान्तकै जस्तो आईसीयू र आकस्मिक कक्षमा शय्या अभाव हुन थालेको छ । बेडको पालो पर्खिएर अस्पतालबाहिर बस्ने संक्रमितको संख्या बढ्दै गएको छ ।

अस्पतालका सबै शय्या संक्रमितले भरिएपछि बिरामी बाहिरै पर्ने अवस्था आएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। अनुप बास्तोला बताउँछन् । आइतबार साँझ टेकु अस्पताल परिसरको टहरामा कामदाहरु बेड राख्दै थिए, इलेक्ट्रिसियनहरुले बत्ती जोड्दै थिए । बेड तयार नहुँदै २ जना संक्रमित अक्सिजनको सहरामा त्यही पल्टिएका थिए । आकस्मिक कक्षबाहिर ३ जना संक्रमित अक्सिजनको सहारामा पालो कुर्दै थिए । संक्रमितका आफन्तलाई चिकित्सकले भन्दै थिए, ‘आईसीयू खाली छैन, आकस्मिक कक्षमा कतै म्यानेज गर्नुपर्ला‘ नत्र अरु अस्पतालमा रेफर गर्नुपर्छ ।’गत वैशाख दोस्रो सातादेखि शुरु भएको कोरोना महामारीको दोस्रो लहर उत्कर्षमा पुग्दा टेकु अस्पतालमा दिनमा ६० जना संक्रमित उपचारका लागि आउथे । त्यसपछि क्रमश संख्या घट्दै गएको थियो । तर केही दिनयता फेरि उपचारका लागि आउने बिरामीको संख्या बढेको छ ।