चैत्र ९ गते २०७७

होटल, रेस्टुरेन्टलाई विद्युत् शुल्क मिनाहा

काठमाडौं ,९ चैत । सरकारले होटल तथा रेस्टुरेन्टलाई कोरोनाकालको विद्युत््को डिमान्ड शुल्क मिनाहा गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले यससम्बन्धी मन्त्रिपरिषद्को फागुन २० गतेको निर्णय आइतबार सार्वजनिक गरेका हुन्।

कोभिड–१९ बाट अति प्रभावितको सूचीमा रहेका होटल तथा रेस्टुरेन्टलाई विद्युत् खपत गरे पनि नगरे पनि तिर्नुपर्ने न्यूनतम शुल्क मिनाहा तथा छुट दिने निर्णय भएको मन्त्री गुरुङले बताए। यो सुविधा होटल उद्योगका रूपमा दर्ता भई सञ्चालनमा रहेका, नियमित नवीकरण भएका र कर विवरण पेस गरेकाको हकमा लागू हुनेछ। उद्योगका रूपमा दर्ता भन्ने सर्तका कारण साना रेस्टुरेन्ट भने यो सुविधाबाट लाभान्वित नहुने देखिन्छ।

सरकारको निर्णयअनुसार लकडाउन सुरु भएको ०७६ चैत ११ गतेदेखि भदौसम्मको विद्युत् डिमान्ड शुल्क शतप्रतिशत छुट दिइनेछ। यस्तै, असोज १ गतेदेखि माघसम्मको तिर्नुपर्ने डिमान्ड शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय सरकारले गरेको छ।