भाद्र २८ गते २०८०

कांग्रेस नेता भोजवहादुरको स्मृतिमा न्यानो स्वीटर वितरण

कमल पौडेल अथक
पोखरा २८, भदौरे, कास्की
नेपाली कांग्रेस कास्कीका नेता स्वर्गीय भोजबहादुर गुरुङ सिकन्दरको तेस्रो स्मृति सभाको अवसरमा कास्कीको अन्नपूर्ण गाउँपालिका ४ भदौरेमा रहेको बहादुरे माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो स्वीटर वितरण गरिएको छ ।
स्वर्गीय भोजवहादुर गुरुङ स्मृति प्रतिष्ठानको आयोजनामा विहीवार उक्त न्यानो स्वीटर वितरण गरिएको हो ।
विद्यालयमा कक्षा नर्सरी देखि १२ सम्म अध्ययनरत १ सय २० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरी गुरुङको स्मरण गरियो । विद्यालय पोशाक अर्थात् निलो स्वीटर प्रदेशका अर्थमन्त्री जीतप्रकाश आले र प्रतिष्ठानका अध्यक्ष देवी गुरुङले विद्यालयका वालवालिकालाई संयुक्तरुपमा हस्तान्तरण गरे ।
सो अवसरमा बोल्दै प्रदेशका अर्थमन्त्री जीतप्रकाश आलेले स्वर्गीय भोजबहादुर गुरुङ नेपाली कांग्रेसका निष्ठावान सिपाही भएको बताए । जीवन भर राजनीतिमा सक्रीय उनले आफूले लिने भन्दा पनि पार्टी कसरी जोगाउने भन्ने सोचमा रहेको स्मरण गरे । कांग्रेसका त्यागी नेता कार्यकर्ताहरुले गर्दा नै पार्टीको इतिहास लामो रहेको उनले बताए । बर्तमान अवस्थामा कांग्रेस फूटेर होइन जुटेर अगाडि बढ्नुको विकल्प छैन उनले भने ।
संविधान सभा सदस्य शारदा पौडेलले स्वर्गीय भोजबहादुर गुरुङ पार्टीको एक कुशल संगठक भएको बताउँदै उनी जस्ता व्यक्तिको देशमा खाँचो रहेको बताइन् । उनले निष्ठाको राजनीति गर्ने नेता राजनीतिमा थोरै हुने भन्दै ती मध्येका एक गुरुङ रहेका थिए भनिन् ।
प्रदेशसभा सदस्य प्रकाश वरालले कांग्रेसको नेतृत्वमा वस्नेले अविभावकीय भूमिका खेल्न नसक्नु चिन्ताको विषय भएको बताए । एक त्यागी नेताको स्मृति सभा मनाइरहँदा हामी नेतृत्वमा वसेकाको चिन्तन कता छ त्यो पनि ख्याल राख्न उनले आग्रह गरे ।
प्रतिष्ठानका अध्यक्ष देबी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त वराल, महासमिति सदस्य देबराज चालिसे, क्षेत्र नं ३ का क्षेत्रीय सभापति मनोज गुरुङ, नेता आइवहादुर गुरुङ, वडा नं ४ का वडाध्यक्ष आइन्दल गुरुङ, नेविसंघका केन्द्रीय सदस्य विकास थापा, बहादुरे माविका प्रधानाध्यापक रामप्रसाद पौडेल, प्रतिष्ठानका उपाध्यक्ष पोशनाथ शर्मा सचिव राजबहादुर गुरुङ र सह सचिव शुक्रराज पौडेल लगायतले बोलेका थिए ।