फागुन १ गते २०७७

हामी जीवन मरणको अवस्थामा छौँ, शहीदको सपनालाई कुल्चिन दिन्नौँ – प्रचण्ड

काठमाडौँ, ०१ फागुन ।

नेकपाको दाहाल(नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हजारौँ शहीदको बलिदानीपछि प्राप्त गणतन्त्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धरापमा पारेको आरोप लगाएका छन् । ओलीले शहीदको रगतले लेखेको संविधान नै धरापमा लाने कोशिस गरेकाले त्यसकाविरूद्ध लड्नु पर्ने अवस्था आएको बताएका छन् ।जनयुद्ध दिवसको अवसर पारेर पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा दाहालले भने, शहीदको सपनालाई कुल्चिने प्रयास भएको छ । हामी मर्नबाट बचेका मान्छेका आँखा अगाडि शहीदको सपना कुल्चने प्रयास भएको छ,’ दाहालले भने, ‘हामी जीवन मरणको अवस्थामा छौँ, उनीहरूको सपनालाई कुल्चिन दिन्नौँ यो प्रण गर्छौँ ।’

आजै दाहालले बारबर्दिया नगरपालिकाले आयोजना गरेको ‘जीवनगाथा’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै शहीदको बलिदानीपछि प्राप्त उपलब्धि रक्षाका लागि एकतावद्ध हुन अपिल गरेका थिए ।