माघ २५ गते २०७७

मोबाइलमा केन्द्रीत भागरथी हत्या प्रकरणको अनुसन्धान

काठमाडौं,२५ माघ । मोबाइलमा केन्द्रीत रहेर बैतडीकी भागरथी भट्टको हत्या भएको विषयमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।

शव भेटिएको स्थानबाट २० मिटर अगाडि मोबाइल भेटिएसँगै त्यसको प्राविधिक विश्लेषणमा प्रहरी जुटेको छ । र, मोबाइलबाट महत्वपूर्ण सुराक हात पर्ने प्रहरीले अपेक्षा गरेको छ । जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी निरीक्षक जनक धामीका अनुसार मोबाइलको प्राविधिक विश्लेषणको काम केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट गएको टोलीले गरिरहेको छ । ब्युरोले नै कल डिटेल रेकर्ड (सीडीआर), बीटीएस लगायतका प्राविधिक पक्षको विश्लेषण गर्नेछ ।

रगताम्ये यौनांग र शरीरको विभिन्न ठाउँमा चोटपटक भएको अवस्थामा बिहीबार भट्टको शव सडक नजिकैको जंगलमा भेटिएको थियो । अनुसन्धानमा खटिएका अधिकृतहरुका अनुसार मोबाइलबाट केही विषयहरु डिलिट भएको हुनसक्ने भएकाले प्रहरी प्रधान कार्यालयमा रहेको डिजिटल फरेन्सिक ल्याबमा पठाउने तयारी गरिएको छ ।

मोबाइलबाट गरिएको अनुसन्धानकै आधारमा प्रहरीले घटनामा चिनजानकै व्यक्ति संलग्न हुनसक्ने आशंका गरेको छ ।