माघ ४ गते २०७७

प्रतिनिधि सभा विघटनविरुद्ध मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुने

काठमाडौं, ४ माघ ।

सर्वोच्च अदालतमा दर्ता भएका प्रतिनिधि सभा विघटनविरुद्ध मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ । सर्वोच्चको संवैधानिक इजलासमा ती मुद्दामाथि सुनुवाइ हुन लागेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने टुंगो लगाएको थियो । सोही अनुसार आजदेखि विषयवस्तुमा प्रवेश गरेर बहस सुरु हुन लागेको हो ।

क्षेत्राधिकारका विषयमा विवाद हुँदा विघटन विरूद्धका मुद्दामा सुनुवाइ हुन सकेको थिएन । संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भनेर गत पुस २२, २९ र माघ १ गते छलफल भएपछि मात्र संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय भएको हो । १३ जना रिट निवेदक ११ जनाले ती मुद्दा विषय बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएका थिए ।