असाेज ८ गते २०७६

सरकारको लक्ष्यभन्दा मूल्यवृद्धि उच्च,सरकारलाई चुनौती

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वार्षिक मूल्यवृद्धि ६ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखे पनि चालू आर्थिक वर्षको पहिलो महिना साउनमा महँगीदर करिब ७ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार गत आर्थिक वर्ष ०७५/७६ को साउनमा ४ दशमलव १९ प्रतिशत मूल्यवृद्धि रहेकामा चालू आवको पहिलो महिनामा महँगीदर ६ दशमलव ९५ प्रतिशत पुगेको हो । यो दर गत वर्षको तुलनामा ६५ प्रतिशतले बढेको हो ।

‘गत वर्षको तुलनामा मूल्यवृद्धिमा चाप परेको छ,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले भने, ‘ज्यालादरमा भएको वृद्धि, तरकारीलगायतका उपभोग्य वस्तुको आपूर्ति र उत्पादनमा भएको समस्या र डलरको भाउ बढ्दा मूल्यवृद्धिमा चाप परेको हो ।’ राष्ट्र बैंकका अनुसार गत असारको तुलनामा साउनमा ज्यालादर ६ प्रतिशतबाट बढेर १३ प्रतिशत पुगेको छ ।

तरकारी, फलफूल, मसला, माछा–मासु, जुत्ता, लुगा, शिक्षालगायतका वस्तु तथा सेवाको मूल्य बढेको हो । काठमाडौंका बासिन्दाले सबैभन्दा धेरै मूल्यवृद्धि खेपिरहेका छन् । काठमाडौंमा ८.६३ प्रतिशत मूल्यवृद्धि छ । भारतमा भन्दा नेपालीले बढी मूल्यवृद्धि खेपिरहेका छन् । भारतमा मूल्यवृद्धि ३.२१ प्रतिशत छ।आजको नया पत्रिका दैनिक बाट।