असाेज २२ गते २०८१

पोखरा महानगरपालिकामा कर्मचारीको बद्मासी, २ महिना अघि पोखरा छोडेका कर्मचारीको खातामा निरन्तर तलव भुक्तानी

कमल पौडेल अथक
पोखरा २२, असोज
पोखरा महानगरपालिकाका केही कर्मचारीले आर्थिक बद्मासी गरेको रहस्य खुलेको छ । महानगरबाट राजिानामा दिएर गएका सातौं तहका एक कर्मचारीको खातामा नियमित तलब भुक्तानी गरेको भेटिएपछि महानगरका कर्मचारीको आर्थिक वद्मासी खुलासा भएको हो ।
महानगरवाट करिव २ महिना अघि राजिनामा दिएर पोखरा छोडेका कर्मचारीको खातामा यतिवेला नियमित २ महिनासम्मको तलव भुक्तानी गरेको भेटिएको छ ।
महानगरमा पूर्व कार्यरत सातौं तहका कर्मचारी कृष्णप्रसाद यादवको खातामा सो रकम भुक्तानी गरिएको फेला परेको हो । उनले गत भदौ १५ गते राजिनामा दिएर हिँडेका थिए । उनी गएको २ महिना भैसक्दा पनि महानगरपालिकाको आर्थिक प्रशासन शाखाले एनआइसी एसिया वैंकमा नियमित तलव जम्मा गरिदिएको पाइएको छ । स्थानीय तह अन्तर्गत सातौ तहका कर्मचारी यादवले नेपाल सरकारको संघ अन्तर्गत नाम निकालेपछि पोखरा महानगरपालिकामा राजिनामा बुझाएर भूमि व्यवस्था तथा सहरी विकास मन्त्रालय सिंहदरवारमा गएका थिए ।
यादवले गत भदौ १५ गते नै पोखरा महानगरपालिकावाट राजिनामा दिएको स्वीकार गरे । म त्यहाँबाट हिडेको लामो समय भएको छ मेरो खातामा नियमित किन तलव आइरहेछ म नै आश्चर्यमा छु उनले भने । उनले आफ्नो नियमित तलव आएपछि प्रशासनका कर्मचारी इश्वरीप्रसाद पोखरेललाई फोन नै गरेर जानकारी गराएको वताए । यसअघिको तलव आफ्नो खातामा आउँदा मेरो खातामा पैसा किन हाल्नु भएको अवदेखि नहाल्नुस् भनेको थिएँ, फेरि पनि तलव आएको छ यसमा मेरो के दोष उनले भने ।
यो तलव किन उनको खातामा नियमित मुक्तानी गरिएको छ यो निकै रहस्यपूर्ण देखिएको छ ।
संघमा नाम निकालेर भूमि व्यवस्था तथा सहरी विकास मन्त्रालय सिंहदरवारमा २ महिना अघि नै गएका यादवले पोखराबाट तलव खाने कुरा कानून विपरित छ ।
पोखरा महानगरपालिकाका प्रशासनका कर्मचारीले उनको खातामा निरन्तर पैसा भुक्तानी गरेर त्यो पैसा बाँडीचुँडी गर्ने खेलमा लागेको हुन सक्ने महानगर श्रोतको दावी छ । दशैंको वेलामा पोखरा महानगरपालिकाका कतिपय करार र ज्यालादारी कर्मचारीहरुको तलव भुक्तान हुन नसकेको अवस्थामा जागिरवाटै राजिनामा दिएर २ महिना अघि पोखरा छोडेका कर्मचारीको नाममा निरन्तर तलब भुक्तानी हुनु निकै रहस्यमय भएको श्रोतले वताएको छ ।
यो त एउटा नमूना घटनामात्र हो महानगरको प्रशासनमा यी र यस्ता थुप्रै आर्थिक अपचलनका कुराहरु छन् । सवै प्रशासनका कर्मचारीहरुले विल विजक मिलाउने खाने गर्दै आएको श्रोतको दावी छ ।
यो घटना वाहिरिएपछि पोखरा महानगर प्रशासनले अव कसरी छानविन अगाडि वढाउला त्यो भने प्रतिक्षाको विषय वनेको छ ।