पौष १२ गते २०८०

पोखरामा आज देखी सडक महोत्सव सुरु

१२ पोखरा,कास्की
पोखरामा आज देखी सडक महोत्सव सुरु भएको छ । पोखराको स्थापित ब्राण्ड हो सडक महोत्सव । २५ वर्ष अगाडि विदेशी पर्यटकका साथै आन्तरिक पर्यटकको बसाइँ लम्ब्याउन अंग्रेजी नयाँ वर्ष मा महोत्सवको परिकल्पना गरिएको थियो । पोखराको लेकसाइडको कोमागाने पार्कमा बिहीबारदेखि २५ औँ संस्करणको महोत्सव पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे।

रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) पोखराले आयोजना गरेको महोत्सव उद्घघाटन पूर्व सन्ध्यामा लेकसाइडको खहरेचोकदेखि कोमागाने पार्कसम्म झन्डै ३ किलोमिटर सडकमा साँस्कृतिक झाँकी सहितको र्याली निकालियो। हजारौँ सहभागी र्यालीमा चितवनको थारु नाचदेखि रुकुमको मयूर नाचसम्म देखाइएको थियो ।
सुरुमा एक दिनबाट थालिएको महोत्सव सन् १९९९ मा एकहप्तासम्म चलेको थियो। ‘मिलेनियम वर्ष’ का रुपमा पहिलो पटक सात दिनसम्म मनाइएको र त्यसयता ५ दिन महोत्सव मनाइँदै आइएको छ।

पोखरा लेकसाइडको ३ किलोमिटर क्षेत्रफलमा हुने महोत्सव रजत जयन्तीका रुपमा पुस १६ गतेसम्म चल्ने महोत्सव संयोजक विश्वराज पौडेलले जानकारी दिए।
‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित सुरु महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत, झाँकी प्रदर्शन, कन्सर्ट, बोट रेस, भेट्रान टेनिस प्रतियोगिता, वेटर रेस, टग अफ वार र पोखराका प्रमुख गन्तव्यसहितको वृत्तचित्र प्रर्दशन गरिनेछ।

तस्विरः दुर्गा थापा