मंसिर ११ गते २०८०

पञ्चासे भञ्ज्याङमा सञ्चालित होटल तथा घरबासको अनुगमन

कमल पौडेल अथक

पोखरा ११, मंसिर
पोखरा २३ पञ्चासे भञ्ज्याङमा रहेका होटल तथा घरवास होमस्टेहरुको सोमवार अनुगमन गरिएको छ । पर्यटन,उद्योग,बाणिज्य तथा उपभोक्ता हित निर्देशनालय कास्कीको अगुवाईमा सो अनुगमन गरिएको हो ।
पछिल्लो समयमा गाँउ घरमा हुने मेला महोत्सवहरु र घरवास तथा होटलहरुमा राखिने खाद्य पदार्थको गुणस्तरको वारेमा प्रश्न उठेपछि समितिले यस्ता ग्रामीण भेगमा अनुगमन केन्द्रीत गरेको जानकारी दिएको छ ।
अनुगमन समितिले त्यहाँ रहेका होटल तथा घरबास कार्यक्रममा विक्रीको लागि राखिने सामान र खानाको गुणस्तर र मूल्य सूचिको वारेमा जानकारी लिएको निर्देशनालयका निर्देशक नारायण ढकालले जानकारी दिएका छन् ।
यसैगरी पञ्चासे युवा क्लवले यही मंसिर २३ गतेदेखि २५ गतेसम्म आयोजना गर्ने भञ्ज्याङ मेला र त्यसको मूल्य सूचि र सरसफाइ र गुणस्तरको वारेमा स्थानीय आयोजक सँग अनुगमन समितिले छलफल गरेको निर्देशक ढकालले जानकारी दिए ।
पोखरामा मात्र नभई गाउँमा जाने सामान र त्यसको गुणस्तरको अवस्था के छ भन्ने कुरा बुझेर आवस्यक सुझाव दिएको अनुगमन समितिले जानकारी दिएको छ । अनुगमनको क्रममा समितिले होटल तथा घरवास सञ्चालकहरुलाई खाद्य तथा गुणस्तर तथा स्वच्छताको वारेमा परामर्श समेत दिएको छ ।
क्लवका अध्यक्ष दीनेश गुरुङले अनुगमन समितिको निर्देशन अनुसार नै मेलामा प्रयोग गरिने वस्तुको गुणस्तर र मूल्यको वारेमा ध्यान दिने प्रतिबद्धता जनाएका छन् ।
निर्देशनालयका निर्देशक नारायण ढकालको अगुवाईमा भएको अनुगमनमा सुचना अधिकारी प्रदीपकुमार रेग्मी, अधिकृत छैटौं राजेन्द्रप्रसाद पौडेल, जिल्ला प्रशासन कार्यालय कास्कीका नासु शिवप्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब निरिक्षक प्रमोद कँडेल, उपभोक्ता मञ्चका प्रतिनिधि र पत्रकारहरुको उपस्थिति रहेको उपभोक्ता हित निर्देशनालयका सूचना अधिकारी प्रदीपकुमार रेग्मीले जानकारी दिएका छन् ।