माघ १० गते २०८२

शान्ति निकेतनमा सरस्वती पूजा एवं अक्षरारम्भ

पोखरा ९ माघ

कमल पौडेल अथक

पोखरा ५, प्रस्र्याङमा रहेको शान्ति निकेतन स्कुलमा शुक्रवार सरस्वती पूजा एवं अक्षरारम्भ कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा बटुकहरुद्वारा स्वस्तिशान्ति वाचन गरी भजन मण्डलीद्वारा भजनकिर्तन सहित कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा स-साना वालवालिकालाई अक्षर आरम्भ गराउनुको साथै सरस्वती बन्दना पाठ गरिएको थियो। कार्यक्रममा अविभावक र विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो।

सो अवसरमा बोल्दै विद्यालयका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले बिद्यालयले गुणस्तरीय शिक्षाको लागि पहल गरेको बताए ।

हाल विद्यालयको नयाँ भवन निर्माण भइरहेको र भवन सम्पन्न भएपछि कक्षा ३ देखि १२ सम्म नयाँ भवनमा पढाइ हुने उनले बताए । तीन कक्षा भन्दा तलका बाबुनानीको पढाइ तत्कालको लागि पुरानै भवनमा हुने उनले बताए । विद्यालयको भौतिक संरचना नयाँ बनेपनि विद्यालय शुल्क पहिलेकै अवस्थामा रहने जानकारी दिए।

विद्यालयको नयाँ भवन निर्माण सँगै अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षाको परिकल्पना गरिएको उनले बताए ।

हाल पोखरा ५ प्रस्याङमा भुइँतला सहित साततले भवन निर्माण निर्माण भइरहेको विद्यालयका सहायक प्रिन्सिपल यदूविलास भूर्त्यालले जानकारी दिए । सो भवन फागुनमा सम्पन्न हुने र आगामी शैक्षिकसत्रदेखि सोही नयाँ भवनबाट पठनपाठन हुने विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमणि भूर्त्यालले शिक्षा नै देश विकासको आधार भएकोले आफ्ना सन्ततिको भविश्य प्रति अविभावकहरु जागरुक हुन जरुरी रहेको बताए।

उनले नयाँ भवन बनेपछि शान्ति निकेतन स्कुल अब देशकै अब्बल स्कुल बन्ने दावी गरे । कार्यक्रमको संञ्चालन सामाजिक विषयका शिक्षक हेम सुवेदीले गरेका थिए ।