मंसिर ३ गते २०८१

पोखरामा महिलाहरुको लागि निःशुल्क लोकसेवा तयारी कक्षा संञ्चालन तालीम सुरु

कमल पौडेल अथक
पोखरा ३, मंसीर
सामाजिक विकास कार्यालय कास्कीको आयोजनामा आइतवारदेखि महिलाहरुको लागि निःशुल्क लोकसेवा तयारी कक्षा संञ्चालन तालीम सुरु भएको छ । २० दिनसम्म संञ्चालन हुने सो तालीममा कास्कीका ५ पालिकाका ४० जनाको सहभागिता रहेको छ ।
तालीमको उद्घाटन गर्र्दै सामाजिक विकास मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले गण्डकी प्रदेशमा लोकसेवामा महिलाहरुको सहभागिता थोरै भएर सरकारले यो कार्यक्रम ल्याएको वताए । उनले देशमा अहिलेसम्म लोकसेवा आयोग नै निश्पक्ष रहेकोले तालीममा सिकेको कुरा व्यवहारमा उतार्नको लागि मेहनतको खाँचो रहेको वताए ।
शिक्षा विकास निर्देशनालय गण्डकीका निर्देशक घनश्याम पौडेले जानी नजानी लोकसेवा परीक्षा दिने वाध्यताको बीच तालीम नै लिएर लोकसेवा परीक्षा दिन पाउनु खुसीको कुरा भएको वताए । उनले गतवर्ष तालीम लिएकाहरु मध्ये केही लोकसेवा आयोगमा नाम निकाल्न सफल भएको वताए ।
कार्यालय प्रमुख राजेन्द्रप्रसाद पौडेलले सरकारले उपलव्ध गराएको अवसरलाई भरपूर सदुपयोग गर्न सहभागीहरुलाई आग्रह गरे ।
कार्यालय प्रमुख राजेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक जीतवहादुर वस्याल, लेखा अधिकृत प्रेमवहादुर केसी, अधिकृत स्तर छैटौं ज्ञानेश्वर सुवेदी लगायतले तालीमको महत्वको वारेमा वोलेका थिए ।