कार्तिक ३ गते २०८१

दुग्ध पदार्थ आयात खोल्न भारतको दबाब, रोकिदियो बीआईएस वितरण

कार्तिक ०३,काठमाडौँ ।

सरकारले दूध तथा दुग्ध पदार्थको आयात स्थगन गरेसँगै भारतले आयात खोल्न अनौपचारिक दबाब दिएको छ । दबाबस्वरूप तीन महिनादेखि ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड्स ९बीआईएस० वितरणमा रोक लगाएको छ । बीआईएस निर्यातलाई अनिवार्य चाहिने प्रमाणपत्र हो ।
तर कारणबिनै भारतले नवीकरण र नयाँ वितरणमा रोक लगाइदिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
भारतले बीआईएस नवीकरण र नयाँलाई बीआईएस प्रमाणपत्र जारी नगर्दा सिमेन्ट, जुत्ता, जस्तापाता, प्लाइउड, सेनिटरी प्याडलगायत उद्योग प्रत्यक्ष समस्यामा परेका छन् । ‘दुग्ध पदार्थ आयातमा सरकारले रोक लगाएपछि भारतको असन्तुष्टि थियो । अनौपचारिक छलफलमा आयात बन्द नगरे हुने बताउँदै आएको थियो । पछिल्लो समय उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको भारत भ्रमणमा पनि यो विषय उठ्यो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘भारतीय उद्योगमन्त्री पीयूष गोयलले समेत चासो राखेका थिए । तर किसानको हितसँग जोडिएको विषय भएकाले औपचारिक रूपमै उसले दबाब नदिए पनि बीआईएस रोकेको आशंका छ ।’

भारतको यो कदमले सबैभन्दा समस्या सिमेन्ट उद्योगलाई परेको छ । पछिल्लो समय मुलुक सिमेन्ट उत्पादनमा आत्मनिर्भर भएको छ । केही सिमेन्ट उद्योगले आफ्ना उत्पादन भारतमा समेत निर्यात गर्दै आएका छन् । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा भारतमा क्लिंकर र सिमेन्ट गरी ३ अर्ब ८५ करोडको निर्यात भएको थियो । तर भारतले बीआर्ईएस रोकेपछि निर्यातमा समस्या भएको छ ।

दुग्ध विकास संस्थान ९डीडीसी० र डेरी उद्योगमा अर्बौं रुपैयाँको धूलो दूध र बटर मौज्दात रहेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ०८० फागुनमा आयात स्थगन गर्ने निर्णय गरेको थियो । फागुन ३ मा खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागलाई पत्र पठाएर अर्को निर्णय नभएसम्म आयात परमिट जारी नगर्न भनेको थियो । खाद्यवस्तु सिधै आयात गर्न मिल्दैन । खाद्य स्वच्छताका आधारमा खानयोग्य भएरनभएको आयात परमिट खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारी गर्छ । मन्त्रालयको निर्णयसँगै आयात परमिट बन्द भएको विभागले जनाएको छ ।