श्रावण ११ गते २०८१

राइड शेयरिङ विरुद्ध यातायात व्यवसायी, कडा सुरक्षा घेरामा पत्रकार सम्मेलन

कमल पौडेल अथक
पोखरा ११, साउन
राइड शेयरिङ अन्तर्गत पोखरामा २ पांग्रे र चार पांग्रे निजी रातो प्लेटका यातायातका साधनले यात्रु ओसार पसार गरेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले विरोध जनाएको छ ।
महासंघ गण्डकीले आज पोखरामा पत्रकार सम्मेलन गरी विरोध जनाएको हो ।
महासंघले प्रदेश सरकारले २ पांग्रे र चार पांग्रे निजी रातो प्लेटका यातायातका साधनले यात्रु ओसार पसार गर्न नपाउने वताएको छ ।
सवारी ऐन २०४९ को दफा ८ को उपदफा १ र दफा १२ को उपदफा १ को वर्खिलाप हुने गरी कानुन निर्माण गरि रातो प्लेटका यातायातका साधनले यात्रु ओसार पसार गर्न पाउने नीति कार्यान्वन गर्न गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालय लागेको भन्दै उनीहरुले ध्यानाकर्षण भएको जनाएका छन् ।
प्रदेश सरकारले रातो प्लेटका २ पाङ्ग्रे र ४ पाङ्ग्रे सवारीलाई यात्रु ओसारपसार गर्न दिने कार्ययोजना तत्काल खारेज गर्नुपर्ने, श्रम आयोग तत्काल गठन गर्नुपर्ने, सडक सुरक्षा योजना तत्काल लागू गर्नुपर्ने माग गरेका छन् । त्यसैगरी यातायात प्राधिकरण गठन गरी यातायात सञ्चालनको कार्यविधि तयार गर्नुपर्ने, वैज्ञानिक भाडादर समयानुकूल समायोजन गर्नुपर्ने माग पनि उनीहरुको छ । त्यस्तै यातायात मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने र भौतिक पूर्वाधार सहरी विकास तथा यातायात मन्त्रालयले गठन गरेको कार्यदललाई क्रियाशील बनाउनु पर्ने लगायतका माग राखेर व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।
भौतिक पूर्वाधार मन्त्री दीपक मनाङे पनि पठाओको पक्षमा लागेको भन्दै यसले पछि निम्त्याउने जोखिमका वारेमा नसोचेको उनीहरुले वताए । कुनै बेला हामीलाई सिन्डीकेटका पक्षधर भन्ने आरोप लागेको थियो अहिले सिण्डीकेट खुल्ला भएपछि पोखराको हालत के छ देख्नुभएकै छ उनीहरुले भने । अहिले पोखरामा यातायातका साधन धेरै यात्रु थोरै हुँदा व्यवसायी मर्कामा परेको बेला फेरि रातो प्लेटका मोटरसाईकल र ट्याक्सीले समेत यात्रु ओसार पसार गर्ने हो भने यहाँका व्यवसायी कहाँ जाने र यिनीहरुको लगानी के हुने उनीहरुले भने ।
गण्डकी प्रदेश सरकारले पठाओको पक्षमा मस्यौदा तयार गर्न लागेको सुँइको पाएको भन्दै महासंघले विरोध गरेको संयोजक केदार पौडेलले वताए । व्यसायीको लगानी सुरक्षीत नगरीकन जथाभावि पठाओका साधन संञ्चालन गर्न दिने निर्णय गरिएमा व्यवसायीले त्यसको प्रतिकार गर्ने उनले वताएका छन् ।
व्यवसायीको लगानीलाई अवमूल्यन गर्दै पठाओद्धारा संञ्चालित यातायातका साधन सञ्चालन गर्न दिएर गण्डकी प्रदेश सरकारले अटेरी गरेमा महासंघले यही साउन १३ गतेदेखि आन्दोलन गर्ने महासंघ गण्डकीका सचिव योगेन्द्र केसीले जानकारी दिए ।
अहिले अमेरिकावाट वनेको एप्स प्रयोग गरी पठाओले पोखरामा आफूखुसी यात्रु ओसारपसार गरेको उनले वताए । उपल्लो तलामा व्यवसायीको हलमा पत्रकार सम्मेलन भइरहँदा तल कार्यालय परिसरमा दुइजना इन्सपेक्टरको कमाण्डमा प्रहरी तैनाथ भएको थियो । तपाइँहरुको पत्रकार सम्मेलनमा नै असुरक्षा भएर यति ठूलो सुरक्षा दस्ताका बीच पत्रकार सम्मेलन गर्न थाल्नुभएको हो भन्ने जिज्ञासामा संयोजक केदार पौडेलले महासंघले सुरक्षाकर्मी नवोलाएको उनीहरु आफै आएको जानकारी दिए । जव पत्रकार सम्मेलन सकियो तव सुरक्षाकर्मीहरु त्यहाँवाट हिँडेका थिए ।
यातायात व्यवसायीहरु भने यातायातका साधन सहित मुख्यमन्त्री र भौतिक पूर्वाधार मन्त्रीलाई ज्ञापन पत्र वुझाउन गएका थिए ।
व्यवसायीले आन्दोलनअन्तर्गत बिहीबार पोखराको सरकारी कार्यालय क्षेत्रमा करिब १ घण्टा आआफ्नो सवारी साधन सडकमा राखेर जाम गरेर विरोध गरेका थिए ।

पोखरामा चल्ने सार्वजनिक सवारीको र्यालीसहित गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री दिपक मनाङेलाई ज्ञापनपत्र बुझाउन गएका थिए मन्त्री गुरुङ कार्यालयमा नभएको कारण उनीहरुले मन्त्रालयका सचिवशंकर पण्डितलाई ज्ञापनपत्र बुझाएर फर्किएको उनीहरुले वताएका छन् ।